जेष्ठ नागरिकको सुरक्षा भत्ता ४ हजार पुग्यो
काठमान्डौ – जेष्ठ नागरिकको सुरक्षा भत्ता वृद्धि गरिएको छ ।
आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले सबै किसिमको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाइएको बताए ।
त्यसैगरी ज्येष्ठ नागरिकका लागि निःशुल्क औषधोपचारको व्यवस्था गरिने भएको छ ।
ज्येष्ठ नागरिक लगायत सबै प्रकारका सामाजिक सुरक्षा बापत आगामी आर्थिक बर्षका लागि १ खर्ब रुपैया विनियोजन गरिएको पौडेलले बताए ।
योगदानमा आधारित सामाजिक सुरक्षा कोषको दायरालाई फराकिलो बनाई असंगठित क्षेत्रमा कार्यरत श्रमिकहरुलाई पनि सहभागी गराइने भएको छ ।
समाजिक सुरक्षाका विभिन्न कार्यक्रमका लागि १४ अर्ब रुपैया विनियोजन गरिएको छ ।त्यसैगरी महिला, बालबालिका र जेष्ठ नागरिकका लागि १ अर्ब २० करोड रुपैया विनियोजन गरिएको छ ।
राट्रपति महिला उद्यमी कार्यक्रम अन्तर्गतका कार्यक्रमलाई विस्तार गरिने, बालप्रज्ञा प्रतिष्ठान स्थापना गर्न, झापाको दमकमा चिल्डेन प्याराडाईज स्थापना गर्न र विभिन्न स्थानमा बालबालिकाको क्षमता अभिवृद्धिका कार्यक्रमका लागि बजेटको व्यवस्था गरिएको छ ।