लुम्बिनीमा कांग्रेसका पाण्डेय राष्ट्रिय सभा सदस्य निर्वाचित एमालेलाई फेरी झडका
जेठ १७ – दाङ -लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन्।
उनले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले हराएका हुन्। पाण्डेयले ४१४० मत ल्याए भने खड्काले ३५९४ मत पाएका छन् ।
कांग्रेस उम्मेदवार पाण्डेयलाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जसपाको बाबुराम-उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको थियो।आजको मतदानमा २९७ जनाले मतदान गरेका थिए।
यसअघि जेठ ६ मा बागमती प्रदेशमा भएको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा पनि एमालेका उम्मेदवार रामबहादुर थापा बादल पराजित भएका थिए ।बादललाई काँग्रेस माओवादीसहितको गठबन्धनको तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका खिमलाल देवकोटाले पराजित गरेका थिए ।