सुमन शर्मा रायमाझीले राजीनामा गर्दै भनिन आफ्नै पार्टीमा फर्कीएर काम गर्छु
वुटवल – लुम्बिनी प्रदेश सरकारकी राज्यमन्त्री सुमन शर्मा रायमाझीले शुक्रबार पदबाट राजीनामा दिएकी छिन । जनता समाजवादी पार्टीको तर्फबाट वैशाख ६ गते नेकपा एमालेका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा उनी भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त भएकी थिइन् ।
उनले राज्यमन्त्री पदबाट राजीनामा दिएर पार्टीको काममा फर्केको बताइन् । ६ प्रदेश सभा सदस्य रहेको लुम्बिनी प्रदेशमा जसपा दुई धारमा विभाजित छ ।
उपेन्द्र यादव समूहका दुई जना सरकार बाहिर छन् । ४ जना वैशाख ६ गते बिहान सरकारको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्दै साँझ सरकारमा सहभागी भएका थिए ।
जसपाकै सन्तोष पाण्डे भौतिक पूर्वाधार विकास मन्त्री, कल्पना पाण्डे शिक्षा तथा सामाजिक विकास मन्त्री र विजय यादव भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका छन् ।
पार्टीको निर्णय विपरित सरकारमा सहभागी भएको भन्दै पार्टीको कारबाहीमा परेका उनीहरु सर्वोच्चको अल्पकालीन आदेश मार्फत पूर्ण फैसला नआउँदासम्मका लागि मन्त्री पदको काममा फर्केका थिए ।मुद्दाको पूर्ण सुनुवाइको पेसी सोमबारका लागि तोकिएको छ ।
राज्यमन्त्री शर्माले समाजवादी पार्टीले एमाले नेतृत्वको सरकारलाई सहयोग नगर्ने नीति लिएकाले आफू सरकारमा बसेर कामलाई निरन्तरता दिन नसक्ने उल्लेख गर्दै संविधानको धारा १६९ को उपदफा २ (क) अनुसार राजीनामा दिएको जनाएकी छन् ।
जसपाका ६ सदस्यमध्ये शर्माको राजीनामा पछिलुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार पुन: अल्पमतमा परेको छ।