कर्णाली प्रदेश सभा बैठक एमालेले आजपनि अवरुद्द पार्यो आव बजेट छलफल सकिन एक साता

असार २४ ,सुर्खेत – कर्णाली प्रदेश सभा बैठक प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बिहीबार पनि अवरुद्ध पारेको छ । आजको बैठकको सुरुमा बोल्ने मौका पाएका पूर्व मन्त्री एवम् एमालेका सांसद दल रावलले सरकार बजेटप्रति उत्तरदायी नभएको बताए।

एमालेले राख्दै आईरहेको प्रश्नप्रति सरकार जिम्मेवार नभएपछि बैठक अवरुद्द पुर्याईएको उनले बताए। लोकतन्त्र भनेको बहुमतमाथि अल्पमतले शाशन गर्ने प्रक्रिया हो र ? याँहा ४० सिटमध्ये २० सिटमा एमाले छ, १८ सिट भएका दुईवटा दलहरुले सरकार सञ्चालन गरिरहेका छन्,यो राजनीतिक लोकतान्त्रिक र वैधानिक रुपमा यो कत्तिको सत्य हो ? यो त लाजमर्दो भएन र उनले भने।

सांसद रावलले सरकारमा लोकतन्त्रलाई नै मार्गदर्शन बनाएको कांग्रेस पार्टी सरकारमा रहेको भन्दै सरकार चलाउन भन्दै लोकतन्त्र बलियो बनाउतर्फ लाग्न आग्रह गरे । लोकतन्त्र मासिने चिन्ता देखाएका पार्टीले नै प्रदेशको लोकतन्त्र मासिँदै गएकोप्रति ध्यान नदिएको उनको भनाइ छ ।

सरकारले जवाफ नदिएसम्म आफूहरुले बैठकको कारबाही अगाडि बढाउन नदिने अडान राख्ने सांसद रावलले बताए। एमालेले बैठकमा अवरोध गरेपछि सभामुख राजबहादुर शाहीले आगामी आइतबार दिउँसो २ बजेसम्मका लागि बेठक स्थगित भएको जानकारी गराए ।

असार १ गते प्रदेश सभाको १० औं बैठकबाट आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको कर्णाली प्रदेश सरकारले बजेटमाथि छलफल चलाउन सकेको छैन ।

एमालेले पटक पटक बैठक अवरुद्द गर्दा बजेट सार्वजनिक भएको २४ दिनसम्म पनि प्रदेश सभामा बजेटमाथि छलफल हुन सकेको छैन । अब चालु आर्थिक वर्ष सकिन जम्मा एक साता मात्रै बाँकी छ । यो भन्दा अगाडी एमालेले सरकारमा रहेका आफ्ना सांसद फिर्ता हुनुपर्ने माग राखेको थियो।