योगेश भट्टराईद्वारा युथ फोर्स र अखिल फोर्स खारेजीको माग
काठमान्डौ – नेकपा एमालेका नेता योगेश भट्टराईले युथ फोर्स र अखिल फोर्सकोको कुनै औचित्य नभएको बताएका छन ।
भट्टराईले समाजिक संजालमा लेख्दै अनेरास्वबियू र युवासंघ जस्ता संगठनलाई ओझेलमा रखेर निर्माण गरिएका युथ फोर्स अखिल फोर्सको औचित्य के छ ? भन्दै प्रश्न समेत गरेका छन।
त्यस्तै यस्ता गतिबिधिमाथि तत्काल रोक लगाउन पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाललाई उनने आग्रह समेत गरेका छन ।
भट्टराईले लेखेका छन ऐतिहासिक र गौरबशाली ईतिहास भएका, पञ्चायत फाल्ने र गणतन्त्र ल्याउने आन्दोलन/ क्रान्तिको अग्रभागमा रहेर भूमिका खेलेका, हजारौ युवाहरुलाई राजनीतिक/ बैचारिक शिक्षा मार्फत पार्टी र सामाजिक कामको नेतृत्व गर्नसक्ने क्षमतामा पुर्याएका अनेरास्वबियू र युवासंघ जस्ता संगठनलाई ओझेलमा रखेर निर्माण गरिएका युथ फोर्स अखिल फोर्सको औचित्य के छ ?
समाजमा आतंकको आभास दिने र युवाहरुलाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्द्त यस्ता बाहुबली समुहहरु तत्काल खारेज गर्नु पर्दछ ।
अनेरास्वबियू र युवासंघ जस्ता संगठनलाई सहि नीति र नेतृत्व प्रदान गरेर राजनीतिक र सामाजिक काममा अग्रसर गर्नु पर्दछ ।
के काम हुन्छन जो युवासंघ र अनेरास्वबियूले गर्न नसक्ने तर युथफोर्स र अखिलफोर्सले मात्र गर्नसक्ने ? पञ्चायत अखिलले नै फाल्यो ।
२०४८ पछिको कांग्रेसको राज्य आतंकसँग अखिल नै लड्यो । माओवादीको १० बर्षे हिंसाको प्रतिबाद यिनै अखिल र युवासंघले गरे ।
पार्टीभित्रका गुटहरुमा बैचारिक चरित्र सकिंदै जाँदा एक आर्काका बिरुद्ध बाहुबली जत्था प्रयोग गर्न खोजेको हो ? यदि हो भने हामी आफ्नो र कम्युनिस्ट आन्दोलनको चिहान आँफैले खनिरहेको स्वीकार गर्नु पर्दछ ।
शान्तिपूर्ण र बैधानिक प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने, कानुनी राज्यलाई स्वीकार गर्ने, फरकमतलाई फक्रनदिने जस्ता बिशेषता सहितको बहुदलीय जनबादको सिद्धान्तलाई अनुशरण गरेको नेकपा एमालेका लागि यो सुहाउने काम होईन ।
तसर्थ: यस्ता गतिबिधिमाथि तत्काल रोक लगाउन पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल समक्ष हार्दिक अनुरोध गर्दछु ।