प्रचण्डको हस्ताक्षर दुरुपयोग गर्नेलाई तत्काल कारबाही गर्न माग

काठमान्डौ – नेकपा माओवादी केन्द्र पार्टीको लेटरप्याड, छाप र अध्यक्ष प्रचण्डको  हस्ताक्षर दुरुपयोग भएको पाईएको छ ।

माओवादीले बुधबार एक विज्ञप्ति जारी गर्दै पार्टीको लेटरप्याड, छाप र अध्यक्ष प्रचण्डको  हस्ताक्षर दुरुपयोग गरेर ‘मन्त्रिमण्डल विस्तार’ बारे भ्रामक प्रचार भएकोप्रति आपत्ति जनाउदै त्यस्ता कार्यमा संलग्नमाथि कडा कारवाही गर्न माग गरेको छ ।

माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार केही अपराधिक, अराजक एवं प्रतिगामी तत्वहरुले माओवादीलाई बदनाम गर्ने उदेश्यले मन्त्रिमण्डल विस्तारबारे कुप्रचार गरेको भन्दै त्यसमा संलग्नहरूलाई कडा कारवाहीको माग गरिएको हो ।

केही समययता यस किसिमका प्रतिगमनकारी, पश्चगामी र पुरातनवादी तत्वहरु अत्तालिएर क्रान्तिकारी र लोकतान्त्रिक शक्तिहरूलाई बदनाममा गर्ने कुत्सित मनसायले यस्ता हर्कतहरु गर्दै आइरहेका छन्’, माओवादीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

‘यस किसिमका किर्ते र झुठ प्रचारको भ्रममा नपर्न सिंगो पार्टी पंक्ति, लोकतान्त्रिक शक्तिहरु, र आम जनसमुदायमा समेत हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ ।

माओवादी पार्टीको नक्कली लेटरप्याड, प्रचण्डको हस्ताक्षरसहित बैठकको निर्णय भन्दै सामाजिक सञ्जालमा अनर्गल प्रचार गरिएको थियो ।