सभामुख सापकोटा र गृहमन्त्रीबीच छलफल
काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँणबीच सङ्घीय संसद्को अधिवेशनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उनीहरुबीच संसद्को चालू अधिवेशनमा विधेयक अघि बढाउनेलगायतका सन्दर्भमा छलफल भएको हो ।
सभामुख सापकोटा र मन्त्री खाँणबीच यस वर्ष बाढीपहिराका कारण देशभर उत्पन्न विपत्ति र त्यसको व्यवस्थापनका सन्दर्भमा सरकारी तयारीबारे पनि छलफल भएको छ ।
सभामुख सापकोटाको जिज्ञासामा मन्त्री खाँणले विपद् संकटग्रस्त क्षेत्र घोषित सिन्धुपाल्चोक जिल्लामा राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको छुट्टै युनिट बनाएर विस्थापितहरुको पुनर्स्थापनाको कार्य अघि बढाउने जानकारी दिए ।
उनले सिन्धुपाल्चोकको जुरे पहिरो पीडितको नाममा सर्वसाधारणबाट संकलन भई राज्यकोषमा रहेको रकम निकासा गर्ने विषयमा जानकारी लिएर कार्य अघि बढाउने बताए ।
यस वर्ष मनसुनको सुरुआतसँगै मनाङ र सिन्धुपाल्चोकमा बाढी पहिरोबाट ठूलो क्षति पुगेपछि सरकारले दुबै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।गत वर्ष पनि बाढी पहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति भएपछि सिन्धुपाल्चोक र बागुलुङलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गरिएको थियो ।