लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा केसी नियुक्त आजै सपथ
वुटवल -साउन २८ ,वुटवल – लुम्बिनी प्रदेशदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार उनलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
केसी रोल्पाको निर्वाचन क्षेत्र १ को ‘क’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।एमालेका तर्फबाट मुख्यमन्त्री बनेका शंकर पोखरेलको राजीनामासँगै प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार ३ बजेसम्म सरकार गठनको दाबी पेस गर्न आह्वान गरेका थिए ।
उक्त समयमा उनको मात्रै दाबी परेको थियो । लुम्बिनी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र सूर्य चिन्हबाट चुनाव लडेका एक सदस्यसहितको गठबन्धनको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् ।
उनले भर्खरै नियुक्तिपत्र बुझेका छन् भने आजै शपथ हुँदैछ । अपरान्ह ४ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण कार्यक्रम आयोजना हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।