समृद्ध कर्णाली, सुखारी कर्णालीवासी”को अभियानमा एकतावद्ध भई अगाडि बढ्न आवस्यक छ :मुख्यमन्त्री शाही

भदौ ४ ,सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश प्राप्तिका लागि आन्दोलनको अग्रमोर्चामा लड्दै गर्दा सहादत प्राप्त गर्ने महान सहिदहरुप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। प्रदेश स्थापना दिवस तथा सहिद दिवस २०७८ को अवसरमा शुभकामना सन्देश दिँदै शाहीले यस्तो बताएका हुन् ।

संघीय व्यवस्था स्थापनाका लागि दशकौं लामो समयदेखि सशस्त्र एवं निशस्त्ररुपमा नेपाली जनताले गरेका बलिदानीपूर्ण संघर्षहरुको पृष्ठभूमिमा कर्णाली प्रदेशवासी जनताले आफ्नो प्रदेश प्राप्तिका लागि समेत बलिदानीपूर्ण संघर्ष गर्नुपरेको तथ्य सबैलाई जगजाहेर छ मुख्यमन्त्री शाहीले सुभकामनामा भनेका छन्।

संघीय संरचना निर्माणका क्रममा हालको कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलाई एउटै प्रदेश बनाउने गरी भएको निर्णयको विरोध एवं कर्णाली प्रदेशवासीको लागि छुट्टै प्रदेश स्थापना गरिनुपर्ने मागसहित १३ दिनसम्म जनआन्दोलन चलेको थियो।

lekbesi

जनआन्दोलनमा टिकाराम गौतम, यामबहादुर बिसी, गोपाल सिंह रजवार र हरि बहादुर कुँवरले ज्यान गुमाएका थिए।४ जना वीर सहिदहरुको बलिदान पश्चात् २०७२ भदौ ४ गते आजकै दिन कर्णाली प्रदेश स्थापना भएको थियो ।

प्रदेश प्राप्तिका लागि बलिदान गर्नुहुने महान सहिदहरुको सम्झना एवं सम्मान र प्रदेश प्राप्तिको खुसियाली मनाउन कर्णाली प्रदेश सरकारले आजकै दिनलाई प्रदेश स्थापना दिवस तथा सहिद दिवसका रुपमा मनाउने गरेको छ । त्यसका लागि शुक्रबार सार्वजनिक विदा दिँदै आएको छ।

कोरोना भाइरस (कोभिड १९) ले सिर्जना गरेको परिस्थितिले गर्दा यो ऐतिहासिक दिनलाई व्यापक हर्षोल्लासका साथ मनाउन सक्ने अवस्था यस वर्ष पनि रहेन । त्यसैले भौतिक दूरी कायम राख्दै सरकारी कार्यालय तथा आ आफ्नो घरमा दीपावली एवं सहिदहरुप्रति सम्मान लगायतका कार्यक्रमहरु गरी यो दिवस मनाउन आग्रह गर्दछु शाहीले भनेका छन्।

यस्तै मुख्यमन्त्री शाहीले प्रदेश प्राप्तिको आन्दोलनका क्रममा व्यक्त भएको उत्साह र सहिदको सपना पूरा गर्न संघीय व्यवस्थालाई अझै बलियो र प्रभावकारी बनाउन आवश्यक रहेको पनि बताएका छन् ।

भौगोलिक विकटता, आर्थिक विपन्नता, सामाजिक पछौटेपनका साथै भौतिक विकासमा समेत पछाडि रहेको कर्णाली प्रदेशका लागि संघीय व्यवस्था अपरिहार्य भएको तथ्य समयक्रमसँगै थप स्थापित भइरहेको छ।

यसका वावजुद यथास्थितिवादी एवं परिवर्तनविरोधी शक्तिहरु अझैं पनि नयाँ संविधान र संघीय व्यवस्थाका विरुद्ध षडयन्त्रमा लागिरहेकोतर्फ पनि आम जनता सचेत रहन जरुरी छ । प्रदेश स्थापना दिवस तथा सहिद दिवसको यो विशेष अवसरमा संघीयता विरोधी षडयन्त्रका विरुद्ध निरन्तर खवरदारी गरिरहन हार्दिक अपिल गर्दछु ।

साथै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको विकास र समृद्धिको लागि प्रदेश सरकारले अगाडि सारेको “समृद्ध कर्णाली, सुखारी कर्णालीवासी”को अभियानमा एकतावद्ध भई अगाडि बढ्न समस्त कर्णालीवासीहरुमा प्रदेश स्थापना दिवस तथा सहिद दिवस २०७८ ले थप प्रेरणा दिने विश्वाससहित पुनः शुभकामना व्यक्त गरेका छन्।