मास्टर एण्ड मिस क्युट किड सुर्खेतको उपाधि आयुष गरन्जामगर र मिर्नाली केसीलाई

सुर्खेत, ४ असार ।
स्टार अफ टुमारोले आयोजना गरेको मास्टर एण्ड मिस क्युट किड सुर्खेतको उपाधि आयुष गरन्जामगर र मिर्नाली केसीले जितेका छन् । शनिवार सांझ भएको ग्राण्ड फिनालेमा आयुषले १० जना र मिर्नालीले १२ जना प्रतिस्पर्धीलाई उछिनेर सो उपाधि जितेका हुन् । आयुष उषा बालबाटिका र मिर्नाली प्रतीक्षा मोन्टेश्वरीमा अध्ययनरत छन् ।
उनीहरुले जनही नगद १० हजारसहित एक÷एक वटा साइकल र उपहारहरु प्राप्त गरेका छन् ।
प्रतियोगिताको निर्णायकमा मिस टिन अनुष्का कार्की, मिस सुर्खेतद्वय रन्जना केसी, श्रुति खड्का र कलाकार प्रेम शर्मा रहेका थिए । १० बर्ष मुनिका बालबालिकाहरुमा रहेका प्रतिभालाई उजागर गर्नका लागि सुर्खेतमा पहिलो पटक मास्टर एण्ड मिस क्युट किड प्रतियोगिता गरिएको आयोजक स्टार अफ टुमारोका अध्यक्ष रमेश शाहीले जनाए । उक्त प्रतियोगितामा कूल ८६ जना प्रतियोगीहरु सहभागी थिए ।
