गायक खेम सेञ्चुरीले गाएको ‘तोरी खायो मौरीले, बोलको गीत तत्काल हटाउन माग

भदौ २९,काठमान्डौ– गायक खेम सेञ्चुरीले गाएको गित तोरी खायो मौरीले हान्छु तिम्लाई लौरीले’बोलको गित हटाउन माग गरिएको छ। गायक सेञ्चुरीले गीतमा तोरी खायो मौरीले बोलको शब्द राखेपछि नेपाल मौरीपालक महासंघले आपत्ति जनाएको हो ।

यसप्रति मौरीपालक महासंघ दुःखित रहेको र कृषकहरुलाई आक्रोशित र अन्यौल बनाएको भन्दै मौरीपालक महासंघले आईतबार विज्ञप्ती नै जारी गरेको छ ।

मौरीपालक महासंघले गीत सम्प्रेषित र प्रकाशित गर्नेप्रति खेद प्रकट गर्दै कानुनी कारवाही गर्न आग्रह गरेको छ । साथै, यो गीतको प्रशारण बन्द गर्न पनि महासंघले माग गरेको छ ।

तोरी उत्पादनमा मौरी विचरण गर्दा ३० देखि ३३ प्रतिशत भन्दा बढी उत्पादनमा बृद्धि भएको अवस्थामा उक्त गीतले गलत सन्देश प्रस्तुत गरेको मौरीपालक महासंघका अध्यक्ष शिव प्रसाद शर्मा बताउछन।

मौरीले तोरी खाएपछि राम्रो उत्पादन हुँदोरहेनछ भन्ने खालको नकारात्मक सन्देश गीतमा सम्प्रेषण गरिएको उनले बताए। यस्तै उनले कृषि मन्त्रालय, गृह मन्त्रालयमा समेत यसबारे जानकारी गराएको बताए ।

गायक खेम सेञ्चुरी र बाल गायिका कमला घिमिरेले गाएको गीतमा खेम सेञ्चुरीको संगीत रहेको छ भने नेत्र अर्यालले शब्द लेखेका छन्।