सुर्खेतमा दुई पूर्वमन्त्री महाधिवेशन प्रतिनिधिमा पराजित

काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सुर्खेतमा सम्पन्न क्षेत्रीय अधिवेशनबाट दुई जना पूर्वमन्त्री नै महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । सुर्खेत-२ बाट पूर्वमन्त्री शिवराज जोशी र पूर्वराज्यमन्त्री खड्गबहादुर बस्याल महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् ।

तीन पटक सम्म मन्त्री भएका जोशीले जम्मा ३१० मत मात्रै पाएका छन् । केन्द्रीय महाधिवेशनतर्फ खुला १० जना प्रतिनिधिमा प्रतिस्पर्धा गरेका उनी १३ औं नम्बरमा आए ।

यस्तै केन्द्रीय महाधिवेशनमा दलिततर्फ उम्मेदवार बनेका बस्यालले ३०२ मत मात्रै पाएका छन् । उनलाई लोकबहादुर विश्वकर्माले पराजित गरेका हुन् । विजयी विश्वकर्माले ४७३ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

पूर्वमन्त्री जोशी र बस्याल दुवै संस्थापनइतर समूहबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका हुन् ।सुर्खेतमा महामन्त्री पूर्णबहादुर खड्का समूह विजयी भएको हो । दुवै निर्वाचन क्षेत्रको कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा खड्का समूहको प्यानल विजयी भएको छ ।