नेतृत्व ,बेइमानी र राजनीति

मङ्सिर २९, काठमाण्डौ -नेतृत्वको मुख्य काम भनेको सकारात्मक र रचनात्मक कार्यको लागि जनतामा आत्मविश्वास पैदा गर्नु हो , ताकी जनताहरु आफैं उभिन सकुन् । संसारकै महान सेना होस् तर उसले गतिलो नेतृत्व पाएन भने कुनै पनि युद्ध जित्न सक्दैन ।

कुशल नेतृत्वले योजना बनाएर अघि हिड्ने बाटो पहिल्याउछ र जस्तोसुकै अफ्ट्यारोलाई पनि उसले जित्छ। जनता र नेतृत्वबीच मीठो सम्बन्ध निर्माण गर्छ।जनता र नेता एकाअर्काप्रति विश्वास हुन्छ।नेतृत्वका रूपमा नेताको काम भनेको अरुलाई प्रेरित गर्ने हो र त्यो प्रेरणाले निश्चित परिमाण हासिल गर्ने हो। नेतृत्वको काम जनतामा निराशा फैलाउने होइन , उत्साह र उर्जा जगाउने हो।

एउटा व्यावसायिक नेतृत्वले आफ्ना कामदारलाई पछ्याउ भन्दैन।उसले अख्तियार गर्ने नीतिले संगठनलाई सशक्त बनाउछ। उसको जिम्मेवारी लगानीकर्ता र ग्राहकप्रति हुन्छ। उसले तिनलाई खुसी पार्नुपर्ने हुन्छ। एउटा राजनीतिक नेतृत्वले उसको भबिस्यको दृष्टि र सपना पूरा गर्न नीति र विधि बनाउने हो।

lekbesi

त्यसका लागि जनतासंग नेतृत्वले विश्वास हासिल गर्नुपर्छ। नेतृत्वको परिक्षण डर र आशंकाका बीचमा मात्र होइन , उप्जाउन सक्ने स्तर सम्म पुग्नुपर्छ । आम जनताको सोचाइसम्म नेतृत्वको सोच पुग्नुपर्छ ।

जनताको सेफगार्ड का रूपमा नेतृत्व उभिनुपर्छ। नेतृत्वको काम सहि ठाउँमा सहि ब्यक्तिको चयन गर्न सक्नु पनि हो। आफ्ना कार्यकर्ता , कर्मचारी वा संगठकहरुको सहि चयनले पनि नेतृत्व सफल हुने वा नहुने निश्चित गर्दछ।

कतिपय ठाउँमा नेतृत्वले आफ्नो निजी रुचि हाबी गराउछ र स्वच्छचारी ढंगले परिवारकै सदस्य तथा साथीभाइ (चाकरी र चाप्लुसी गर्नेलाई विशेष प्राथमिकता ) लाई नियुक्त गर्ने गर्दछन । यसले गर्दा आधुनिक समाजको आधारभूत संरचना ध्वस्त हुन पुग्छ। धमिरोले आक्रमण गर्यो भने सुरुमा यहि आधारभूत संरचना ध्वस्त हुन पुग्छ। सामान्य अवस्थामा पनि यसले काम गर्न सक्दैन ।

नेतृत्वले वर्तमानको समस्या मात्र होइन ,भौगोलिक ,ऐतिहासिक ,जातीय र आर्थिक शक्तिका विषयमा राम्रो जानकारी राख्नुपर्छ । नेतृत्वले विगतलाई गम्भीर रूपमा समिक्षा गर्दै ,वर्तमानको गहिरो बोध र भविस्यलाई दुरदर्शि आँखाले हेर्न सकेन र त्यसअनुरुपको रणनीति र कार्यनीति निर्माण का साथै कार्यनयन गर्न सकेन भने त्यो नेतृत्व आफू मात्रै असक्षम सिद्ध हुँदैन सिङ्गो देश र आम जनताको लागि नेतृत्व घातक हुन्छ।

यसो भयो भने आम जनता र सिङ्गो देशको लागि दुर्भाग्य सावित हुन्छ। नेतृत्व देखेर जनता तर्सिने र लाज मान्नुपर्ने परिस्थितिको सिर्जना हुन्छ। नेता भनेपछि फोहोरी खेलको नाइकेको रूपमा आम जनताले बुझ्ने गरेका छन् ।

यसै सन्दर्भमा कांग्रेसको चौधौं महाधिवेशन उट्घाटन सत्रमा राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन ले एक प्रसङ्गमा आजभोलि गाउँघर तिर नेता उपस्थित हुँदा पनि कुन चै चोर आएछ भनेर सोधपुछ गर्छन् जनताले भन्ने कुरा निकै मार्मिक तवरले प्रस्तुत गरे। उनले नियतबस त्यो बोले या यथार्थ बोले त्यो फरक बहसको बिसय हो तर उनले त्यतिखेर वास्तविकता ओकल्ने हिम्मत गरे साहस गरे।

अहिले सामान्य ब्यक्ति देखि असामान्य ब्यक्ति सबै एउटै घानमा पोखिएका छन् । वास्तविक नेताले आफूलाई नेता भन्न लाज मान्नुपर्ने र जनताले फोहोरी राजनीतिमा लतपतिएको जोक्कर लाई नेता मान्नु र भन्नू पर्ने साह्रै लज्जित र घृणित कार्य राजनीति नामको फोहोरी खेलमा भैरहेको छ। यसबाट हामी सजिलैसँग अनुमान लगाउन सक्छौं कि राजनीति नामको दोकानमा थुप्रै चैते फोहोरी ब्यापारीहरुले पसल थापिरहेका छन् ।

पद, अवसर ,ठेक्कापट्टाका लागि आची खान पनि पछि नपर्ने जोक्करहरु ,राजनीति नामको फोहोरी बजारमा यत्रतत्र सर्वत्र छन। अझ भनौ यिनै राजनीतिक बजारका जोक्करहरु ले , ईमानदार ,बैचारिक र निष्ठावान नेतालाई अनेक थरीका लाल्छाना लगाउने र बदनाम गर्ने निकै लज्जास्पद कार्य पनि गरिरहेका हुन्छन् ।

ठेक्का पट्टा बाट अर्बौं रकम घोटाला गर्न मा निकै माहिर हुन्छन् , जोक्करहरु। पंक्तिकारको गृह जिल्ला दैलेख मै गएको भदौ २६ गते कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठनको जिल्ला भेला भएको थियो । त्यतिखेर जिल्ला आयोजक समितिका संयोजक ले पार्टी अध्यक्षले कि खर्च ब्यवस्थापन गरिदिनुपर्ने कि त योजना पारिदिनुपर्ने भन्ने गुनासो गरेका थिए।

योजना पारिदिएको भए त्यसको ठेक्कापट्टा बाट केही रकम बचाएर संगठन चलाउने मनसाय हुँदो हो।यस्तो ठेकेदारी मानसिकता हुनु कम्युनिष्ट पार्टीको लागि हानिकारक हो। ब्यक्ति लाई त नाफा नै होला तर त्यसको क्षति पार्टी ,संगठनले ब्यहोर्नुपर्ने हुन्छ। अराजनीतिक शैलीमा पार्टी संगठन लाई आफ्नो पैतृक सम्पत्तिको रूपमा जब जिम्मेवार नेतृत्वहरुले सोच्छन तब नेतृत्व मात्रै होइन पार्टी नै ध्वस्त हुन्छ।

अहिले हाम्रो अपेक्षा राज्यतिर बढी नै आश्रित बन्दैछ । तर, हामी सबै राज्य र नेताप्रति आश्रित बनिरहेका छौं । सबैलाई थाहा छ, राजनीतिक संक्रमणसँगै समाज पनि परिवर्तन भएको छ । समाज परिवर्तन भएपछि सामाजिक धरातल र परिवेश पनि परिवर्तन भयो ।

यस्तो परिवर्तन हुनेबित्तिकै समाजको नेतृत्वमा संकट देखिन थाल्यो । समाजका विविध क्षेत्रमा चाहे त्यो धार्मिक, सामाजिक, आर्थिक, विकास वा सेवा र सुविधा वितरणको सवालमा होस सबै क्षेत्रमा राजनीति हावी बनेर गयो । मौलिक सामाजिक नेतृत्वलाई राजनीतिले अशक्त र कमजोर बनाइदियो । परिवर्तनको शुरुवातमा त राजनीतिक नेतृत्व बडो क्रान्तिकारी देखियो ।

तर, यत्रो युगान्तकारी परिवर्तन गरेर आएको राजनीतिक नेतृत्वले सामाजिक परिवर्तनलाई बुझ्न सकेन् । सबै कुराको निर्धारण राजनीतिले मात्र गर्दछ भन्ने अहंकारले सामाजिकतालाई लथालिंग बनाइदियो । त्यही भएर राजनीतिक नेता र नेतृत्व सामाजिक विषयमा कन्जरभेटिभ देखिएका छन् । जसले स्वःपरिचालित समाजलाई परामुखी बनाइदिएका छन् ।

अहिले राजनीतिक नेतृत्व बडो जाली र आडम्बरी बनेको छ । किनभने यसले भनेको कुराहरू गर्न छाडेको छ । जुनसुकै दलको राजनीतिक नेतृत्व किन नहोस्, सत्ता र शक्तिको दम्भले अरुका कुरा सुन्नै नसक्ने भएको छ । अर्को कुरा, नेतृत्वले सामाजिक मुद्दाका माग पनि पूरा गर्न सकेको छैन । हिजो यिनै राजनीतिक नेता र नेतृत्वका कारण समाजमा विभिन्न मागहरु सृजना भए ।

राजनीतिले नै माग सृजना गर्ने काम गर्यो । तर, आज राजनीतिक नेतृत्व नै ती मागहरुबाट भागिरहेको छ । यस्ता मागहरुका बारेमा राजनीतिक नेतृत्व र नेताहरुलाई सुन्ने फुर्सद नै छैन । नेतृत्वको सबैभन्दा ठूलो क्षमता नै अरुको कुरा सुन्ने हो । सुन्दै नसुन्ने नेतृत्व बेइमान हो । अहिले, राजनीतिक नेता र नेतृत्व आडम्बरी र बेइमानी बन्दैछ ।

 

नेता र नेतृत्व आफैंले बनाएको नियम कानूनमा बस्नु पर्दछ । चाहे त्यो मुलुकको संविधान, कानून वा नीति नियमहरु हुन् या पार्टीको विधि र विधान नै किन नहोस् । यो नियम त अरुलाई बनाएको हो, मलाई लाग्दैन भन्नु नेतृत्वको सबैभन्दा ठूलो बेइमानी होे । तानाशाही यस्तै प्रवृत्तिबाट जन्मने हो । अहिले पार्टीको विधान, मुलुकको संविधान, कानून र नियमहरु मिच्नेहरुको नेतृत्वले पटक– पटक बेइमानी गरिरहेको देखिन्छ ।

 

अहिलेको नेतृत्वलाई यो सारा परिवर्तन जनता लडेर ल्याएको होइन, मैले दिलाएको हो भन्ने मान्यताबाट ग्रसित छ । नेतृत्वमा रहेका नेताहरुमा उनीहरु मालिक हुन् र उनीहरुले अरुलाई दिने हो भन्ने सामन्तवादी सोच हावी भएको छ । नागरिकको सर्वोच्चतालाई उनीहरुले आत्मसात गर्न सकेका छैनन् । व्यवहारमा अहिलेको नेतृत्व ढुलमुले मात्र छैन चरम अवसरवादी पनि छ । लोकतन्त्रमा नेतृत्व सामुहिक हुन्छ भन्ने सोच लुप्त भएका नेताहरु हावी भएका छन् ।

सफल नेता जहिले पनि दिनमा विश्वास गर्छ । ऊ आफ्नो मात्रै प्रगतिका बारेमा सोच्दैन, अरूको प्रगतिमा पनि उ त्यति नै खुसी हुन्छ र सहयोग गर्छ ।त्यतिमात्र नभएर नेतृत्व गर्ने मान्छेबाट आम मानिसह रुले धेरै आश गर्ने भएकाले बृहत ज्ञान र चुनौतिसँग सौदाबाजी गर्न सक्ने आँट , साहस र धैर्यता हुनुपर्दछ ।

(लेखक किशोर सुवेदी समसामयिक बिषयमा निरन्तर कलम चलाइराख्ने कर्णाली प्रदेशका एक बौद्धिक युवा हुन।)