भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने महिलामाथि गोली प्रहार
पुस २० , काठमान्डौ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने महिलामाथि गोली प्रहार भएको छ ।
भारतको उत्तर प्रदेशको सुल्तानपुरमा प्रधानमन्त्री मोदीलाई कालो भण्डा देखाउने रीता यादवमाथि गोली प्रहार भएको बिबिसीले उल्लेख गरेको छ।
उनको खुट्टामा गोली लागेको र सुल्तानपुर जिल्ला अस्पतालमा उपचार भइरहेको पनि भारतीय संचारमाध्यमहरुले जनाएका छन।
घाइते रीता यादवले आफू पोस्टर ब्यानर बनाउन सुल्तानपुर गएको र घर फर्कने क्रममा आफूमाथि गोली प्रहार भएको खबरमा उल्लेख गरिएको छ ।
नोभेम्बर १६ तारिखमा उनले प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाएकी थिइन् ।कालो झण्डा देखाएको भन्दै यादवलाई पक्राउ गरिएको थियो ।
पक्राउ गरेको दुई दिनपछि उनलाई रिहा गरिएको थियो । यो घटनाको एक महिना पछि गएको डिसेम्बर १७ तारिखमा उनी कांग्रेस पार्टीमा प्रवेश गरेकी थिइन् ।
गोली प्रहार भएको यो घटना प्रधानमन्त्रीलाई कालो झण्डा देखाएको घटनासँग सम्बन्धित रहे नरहेको खुल्न बाँकी रहेको छ । गोलि प्रहार गर्नेको खोजी भैइरहेको भारतीय प्रहरीले जनाएको छ।