गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन ढिलो भएपछि मन्त्री आलेको एक्सन

वुटवल – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध विमानस्थल छिटै सञ्चालन गर्न निर्देशन दिएका छन्।

शनिबार विमानस्थल निरीक्षण गर्दै मन्त्रीले आलेले आफ्नो मुख्य प्राथमिकता गौतमबुद्ध विमानस्थल सञ्चालन रहेको समेत बताएका हुन्। भारतसँग हवाइ रुट अनुमतिका लागि मन्त्रालयले कुरा अगाडि बढाएको र विमानस्थल पनि जतिसक्दो छिटो संचालनमा ल्याउने बताए ।

मन्त्री आलेले अहिले मौसममा आएको खराबीका कारण क्यालिब्रेसन फ्लाइटमा ढिलाइ भएको भन्दै मौसम सफा हुने वित्तिकै क्यालिब्रेसन फ्लाइट गर्न आयोजना प्रमुखलाई निर्देशन दिएका हुन् ।

केही समय अघि भारत भ्रमणका क्रममा आफूले भारतीय समकक्षीसँग हवाई रुट अनुमति दिन आग्रह गरेको पनि मन्त्री आलेले बताए । क्यालिब्रेसन फ्लाइटमा ढिलाइ भएको भन्दै मन्त्री आलेले असन्तुष्टि जनाउँंदै विभागका प्रमुखलाई फोन मार्फत छिटै गौतमबुद्ध विमानस्थल सञ्चालन गर्न आग्रह गरे।

यस्तै मन्त्री आलेले गौतमबुद्ध विमानस्थलको ८ सय विघा जमिन हुँदासमेत एउटा मात्रै रन-वे किन बनाएको भन्दै आयोजना प्रमुख प्रवेश अधिकारीलाई प्रश्न गरे । गौतमबुद्ध विमानस्थल केही निर्माण र फिनिसिङका काम बाँकी रहेको छन् भने ९९ प्रतिशत काम सम्पन्न भईसकेको छ।