सिटामोल लुकाउने फार्मेसीलाई १० हजार जरिवाना
माघ ५, काठमान्डौ – सिटामोल लुकाउने फार्मेसीलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जरिवाना गरेको छ । सिटामोल बजारमा अभाव भएपछि बिरामी ग्राहकलाई सिटामोल बिक्री नगर्ने गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्र सातदोबाटोलाई १० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।
बिरामीले सिटामोल माग्दा छैन भनेर फर्काउने फार्मेसीको गोदाम भरि सिटामोल फेला परेको छ। विभागले छड्के निरिक्षण गरिरहेको बेला उक्त गोदामभरि सिटामोल लुकाईएको आवस्थामा फेला परेको विभागका निरिक्षण अधिकृत धनेश्वर पौडेलले बताए । अहिले बजारमा सिटामोलको अभाव हुने गरेको छ।
सिटामोल किन्न आउने बिरामीलाई छिन भनेर फर्काउने गरेको जानकारी पछि विभागले छड्के निरिक्षण गरिरहेको थियो। फार्मेसीको गोदामा भने सिटामोलले भरिएको पाईएको विभागले जनाएको हो।
औषधी जस्तो संवेदनशील वस्तुको कार्टेलिङ गरेको आरोपमा विभागले फार्मेसीलाई तत्काल १० हजार रुपैयाँ नगद जरिवाना र सचेत गराउने काम गरेको पौडेलले बताए ।
केही दिनदेखि बजारमा ज्वरोको बिरामी बढेका कारण सिटामोलको माग उच्च भएको र त्यसैको मौकामा लुकाउने प्रचलन देखिएको गुनासो पछि बजार अनुगमनलाई तीव्र पारिएको विभागले जनाएको छ ।
पछिल्लो समय कोभिडको लहरमा अत्यावश्यक कुनै पनि खाले औषधिमा कालोबजारी वा कृत्रिम अभावको गुनासो भए तत्काल सम्पर्क गर्न समेत विभागले जानकारी गरेको छ। यस्तै माक्समा अकालोबजारी गरे तिन औषधि व्यावसायीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ।