पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो निगम भन्छ अझै १ अर्ब ८८ करोड घाटा छ
काठमान्डौ – नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको निगमले जनाएको छ ।
अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेल/मटितेल १२२ रुपैयाँ पुगेको छ । त्यस्तै खाना पकाउने ग्यासको मूल्य भने नबढाइएको निगमले जानकारी दिएको हो । यस्तै आन्तरिक हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरी प्रति लिटर १०६ रुपैयाँ कायम गरिएको छ ।
अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी डलर कायम गर्ने निर्णय गरिएको निगमले जनाएको छ ।पछिल्लो पटक मिति २०७८ कात्तिक २४ गते मूल्य समायोजन भएको थियो । यस्तै आजको मूल्य समायोजन पश्चात् पनि १५ दिनमा करीब १ अर्ब ८८ करोड रूपैयाँ घाटा हुने स्थिति देखिएको निगमले बताएको छ ।