ठमेलको होस्टेलमा अनलाइन जुवा खेलाइरहेका सञ्चालक र भारतीय पक्राउ
काठमान्डौ – ठमेलको एक होस्टलमा अनलाइनबाट जुवा खेलाउँदै गरेका दुई जनालाई प्रहरीले नगदसहित पक्राउ गरेको छ।पक्राउ पर्नेमा बाग्लुङ थाईवाङ घर भई हाल काठमाडौं-२६ बस्ने ठमेल होस्टलका सञ्चालक राकेशकुमार क्षेत्री र भारत दिल्ली तिलकनगर घर भई हाल काठमाडौं-२६ बस्ने भारतीय नागरिक जसपाल सिंह छन्।
महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनीहरूलाई होस्टेलको पाँचौं तलाबाट मंगलबार पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार उनीहरूबाट अनलाइन जुवासम्बन्धी नगद, चेक, बैंक भौचरलगायत बरामद गरिएको छ।
त्यस्तै जुवा खेलाइएको कोठाबाट प्रहरीले १ लाख ५५ हजार नगद , सानिमा बैंकको ७४ हजारको चेक, कुमारी बैंकको पाँच लाख ६५ हजार रुपैयाँको भौचर, इन्भेष्टमेन्ट बैंकको भौचर १८ लाख ४९ हजार, वाणिज्य बैंकको ३२ हजारको भौचर, सानिमा बैंकको दुई लाख र आइएमइबाट कारोबार गरेको पचास हजार रुपैयाँको भौचर बरामद भएको छ। पक्राउ परेकाले मोबाइलबाट जुवा खेलाउने गरेको पाइएको छ। उनीहरूले सट्टाबाजीको लागि क्वाइन, सिक्का प्रयोग गर्ने समेत गरेका थिए। अनलाइन बेटिङका लाथि टेबल पेपर, हिसाब-किताब गरेको पाना, डायरी, मोबाइलहरू बरामद भएको मैनालीले बताए।

पक्राउ परेका क्षेत्री पहिलेदेखि नै अनलाइन जुवा खेलाउने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। लैनचौर वृत्तका प्रहरी नायब उपरीक्षक दुर्गाप्रसाद दाहालका अनुसार उनले प्रिमियर लिग, आइपिएललगायतमा उनी बेटिङ गर्ने गरेका थिए। सिंहले भने क्षेत्रीका लागि ग्राहक खोज्ने र उनीहरूलाई बोलाउने युजर आइडी बनाइदिने काम गर्ने गरेको पाईएको हो।
‘युजर आइडी बनाएपछि त्यहीँ पैसा लिने, चेक लिने वा इसेवाबाट भुक्तानी लिने गरेर जुवा खेलाउने गरेको पाइयो। उनिहरुसंग को को व्याक्ति जोडीएका छन् र कँहा- कँहा छन् भन्ने हामि अनुसन्धान गरिरहेका छौ दाहालले भने।