माओवादीको १० वर्षे सशस्त्र द्वन्द्वमा मारिएका एक नेताको २० वर्षपछि काजकिरिया

माघ १२,गाेरखा – तत्कालीन नेकपा माओवादीले चलाएको १० वर्षे सशस्त्र द्वन्द्वमा मारिएका एक नेताको २० वर्षपछि काजकिरिया गरिएको छ ।
गोरखाको साविक ताक्लुङ गाविस चालिसे घर भएका श्रीराम खनाल ‘सन्देश’ को २० वर्षपछि हिजो मङ्गलवार परिवारले हिन्दुसंस्कार अनुसार दाहसंस्कार गरेर काजकिरिया गरेको हो।
हाल चितवनमा बसोबास गर्ने खनालको परिवारले देवघाटमा मृतकको स्वरूप बनाएर दाह संस्कार गरेको हो।
मृतकका माइलो दाइ ईश्वरीप्रसाद खनाल १३ दिन हिन्दू संस्कार अनुसार काजकिरिया बसेको पारिवारिक श्रोतले जनाएको छ।


तत्कालीन नेकपा माओवादी केन्द्रको तनहुँ जिल्ला कमिटी सदस्य रहेका खनालको २०५८ साल माघ २२ गते सुरक्षा कारबाहीमा ज्यान गएकाे थियो ।
पार्टी बैठकको क्रममा तनहुँकाे साविक छाङ गाविसको साउनेपानी भन्ने ठाउँकाे एउटा घरमा बैठक गरिरहेका बेला नेपाली सेनाको आक्रमणमा उनको ज्यान गएको थियो।
गोरखामा रहेकाे घरमा सुरक्षाकर्मीले निरन्तर गस्ती र निगरानी गरिरहेको बेला मृतकका आफन्तले आफ्नो घरको परिवार हो भनेर काजकिरिया गर्ने अवस्था हुने नगरेको परिवारले जनाएको छ।
बीस बर्ष पछि बल्ल हिजो काजकिरिया गरिएको उनीहरुले बताए ।खनाल गोरखा क्याम्पसमा अध्ययनका क्रममा भूमिगत भएका थिए , खनालको नाम शहीदको सूचीमा समेटीएको छ।
