उद्योगी व्यवसायीहरूलाई मल कारखाना स्थापना गर्न प्रधानमन्त्रीको आग्रह
माघ १२ ,काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले मल कारखाना स्थापना गर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गरेका छन।
अफगानी नागरिकलाई सहयाेग गरेर फर्किएका उद्याेगी, व्यवसायी र सरकारका प्रतिनिधिसँग हिजो मङ्गलवार बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री देउवाले नेपालमै मल कारखाना खाेल्न आग्रह गरेका हुन।
उद्योगी, व्यवसायीहरूले मल कारखाना खाेलेमा सरकार सहयोग गर्न तयार रहेको पनि प्रधानमन्त्री देउवाले बताए ।

प्रधानमन्त्री देउवाले अफगानिस्तानमा खाद्यान्न सङ्कटको बेला मानवीय सहयोग गर्नु सरकारको दायित्व भएको भन्दै अफगानी नागरिकलाई सहयोग गरेकोमा उनीहरूलाई सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरे।
अफगानिस्तानमा अत्यन्तै खाद्य सङ्कट छ । यूएन समेतले अफगानीहरू भोकै मर्न थाले, मानवीय सहायता सहयोग चाहियो भनेर सहयोग माग्दा नेपालका उद्योगपतिले मानवीय सङ्कटमा खाद्यान्न पुर्याउन मद्दत गर्नुभयो, सबैलाई हार्दिक धन्यवाद ।
प्रधानमन्त्री देउवाले अहिले देश कोरोना भाइरसबाट आक्रान्त बनेको भन्दै सबैले स्वास्थ्य मापदण्ड पूर्ण पालना गरेर कोरोनालाई परास्त गर्नुपर्ने बताए।
कोरोनाविरुद्धको खोप सरकारको पहिलो प्राथमिकता भएकाले सबैले खोप लगाएर कोरोनाबाट सुरक्षित हुन पनि उनले आग्रह गरे।