केन्द्रीय सदस्य खारेजीको माग गर्दै विनोद चौधरीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा
फागुन ५ काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । चौधरी विधान विपरीत मधेसी कोटाबाट १४औं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएको भन्दै कांग्रेस नेता डा. सुभाषचन्द्र यादवले रिट निवेदन दर्ता गराएका हुन् ।
उनको रिट निवेदनमा सर्वोच्च प्रशासनले फागुन ८ गतेलाई पेशी तोकेको छ । कांग्रेसका निवर्तमान कोषाध्यक्ष सीतादेवी यादवका छोरा रहेका यादवले चौधरीसँगै प्रतिस्पर्धा गरेका थिए । पाँच जनाको मधेसी कोटामा उनी छैठौं भएका थिए ।
कांग्रेसको विधानले १० वर्ष निरन्तर कांग्रेसको क्रियाशील सदस्य भएको महाधिवेशन प्रतिनिधिमात्र केन्द्रीय सदस्य उम्मेदवार हुन पाउने उल्लेख गरेको भन्दै यादवले चौधरीको उक्त अवधि नपुग्ने जिकिर रिट निवेदनमा गरेका छन् ।केन्द्रीय निर्वाचन समिति, निर्वाचन आयोगले आफ्नो कुरा नसुनेपछि अदालत जान बाध्य भएको यादवले बताए ।
हाम्रो संशोधित विधानमा या त जुन पदमा समायोजन (अर्को पार्टीबाट आएको) भएको हो त्यहीँ पदमा लड्न पाउने भन्ने हो । होइन भने १० वर्ष क्रियाशील भएको हुनुपर्यो । त्यो चौधरीजीको हकमा पुग्दैन,’ उनले भने ।
१० वर्षे प्रावधानका कारण अरु सदस्यले पनि प्रतिस्पर्धा गर्न नपाएको तर पैसा र उच्च ओहदाकोलाई विधान नलाग्ने हो भन्दै उनले रिट निवेदनमा प्रश्न गरेका छन् । यादवले यसअघि केन्द्रीय निर्वाचन समितिमा उजुरी दिएका थिए ।