एमसीसी पास गरे राष्ट्रिय युद्ध सुरु हुन्छ : सीपी गजुरेल
काठमान्डौ- नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले नेपालमा जबरजस्ती एमसीसी पास गरे देशमा राष्ट्रिय युद्ध हुने बताएका छन्।
आज ६ दल र २ मोर्चाले गरेको संयुक्त आयोजना विशाल विरोध प्रदर्शनपछि आयोजित विरोधसभालाई सम्बोधन गर्दै गजुरेलले जबरजस्ती एमसीसी पास भए राष्ट्रिय युद्ध हुने र त्यसले अहिलेको व्यवस्थालाई पनि उलटपुलट पारिदिने बताए।
देशको स्वाधीनताको रक्षाका लागि सबै देशभक्त क्रान्तिकारीहरु एकजुट हुनुपर्ने बेला आएको छ। एमसीसी खारेज नहुन्जेलसम्म सबै पार्टीभित्र रहेका देशभक्त क्रान्तिकारीहरुले अझ ठूल्ठूला विरोध प्रदर्शन र आवश्यक परे जस्तोसुकै कदम चाल्न पनि तयार हुनुपर्छ उनको भनाई छ। यस्तै एमसीसी पास भए नेपालमा अमेरिकी सेना आउने र उसलाई निकाल्न कसैले नसक्ने समेत उनले बताए।
राष्ट्रिय जनमोर्चाकी उपाध्यक्षसमेत रहेकी प्रतिनिधिसभाकी सांसद दुर्गा पौडेलले एमसीसी सम्झौता नेपालको संविधान र कानुनभन्दा माथि पारेर नेपाललाई उपनिवेश बनाउनका लागि संसदबाट पास गर्न लागेको भन्दै एमसीसी सम्झौता संशोधन होइन खारेजै हुनुपर्ने बताइन्।