ओली फेरि सत्तामा आए नेपाललाई सिध्याउने छन्: माधव नेपाल

काठमान्डौ – सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओली फेरि सत्तामा आए नेपाललाई सिध्याउने गम्भीर आरोप लगाएका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले केपी ओली नेतृत्वको सरकारले नेपाललाई इण्डोप्यासेफिक रणनीतिको अंग बनाएर सिध्याउने काम गरेको तर आफूहरूले बचाएको दाबी समेत गरे।

शनिबार काठमाण्डौमा आयोजित एकीकृत प्रगतिशील प्राध्यापक संगठन, नेपालको राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले ओली नेतृत्वको अघिल्लो सरकारका मन्त्री प्रदिप ज्ञवालीले अमेरिकामा गएर नेपाललाई इण्डाे-प्यासिफिक रणनीतिको अंग बनाउने समझदारीमा हस्ताक्षर गरेको तर आफूहरुले विरोध गरेपछि अमेरिकाले हटाएको बताए।नेपाललाई इन्डोप्यासेफिक रणनीतिको अंग बनाएर ओलीले सिध्याउने प्रयास गरे पनि आफूहरूले विरोध गरेर बचाएको अध्यक्ष नेपालको तर्क थियो।

फेरि ओली सत्तामा आए इन्डो प्यासेफिक रणनीतिको अंग बनाएर नेपाललाई सिध्याउने आरोप लगाउँदै उनले त्यसो हुन नदिन पनि सत्तारूढ गठबन्धनलाई जोगाउन लागिपरेको बताए।अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीलाई नेपाली राजनीतिको घाँडोको संज्ञा समेत दिए। ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाएर हटाउने अपराधपूर्ण सोच राखेको भन्दै उनले आक्रोश व्यक्त गरे। अध्यक्ष नेपालले यथास्थितिमा एमसिसी संसदबाट पारित गर्ने पक्षमा आफ्नो पार्टी नरहेको पनि दोहोर्‍याए।