रुखबाट खसेर चितुवा ठहरै

चैत २७ ,- परासी – बालकलाई आक्रमण गरेर भागेको चितुवा रुखबाट खसेर ठहरै भएको छ। पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-८ पिपरपाती गाउँमा शनिबार दिउँसो देखिएको उक्त चितुवाले स्थानीय बालकलाई आक्रमण गरेर भागेको थियो।

चितुवा एक स्थानीयको घरमा समेत पसेको थियो। स्थानीयले लखेटेपछि चितुवा गहुँखेतमा अभिभावकसँग बसेका ११ वर्षिय बिजय हरिजनलाई आक्रमण गरेर घाइते बनाएको छ। बालकलाई आक्रमण गरेर भागेको चितुवा सिमलको रुखमा चढेको थियो ।

गाउँलेको भिडदेखेपछि आत्तिएपछि चितुवा रुखबाट खसेर मरेको डिभिजन वन कार्यालयका प्रमुख महेन्द्रराज वाग्लेले जानकारी दिए। मृतक भाले चितुवा अन्दाजी ५ वर्षको छ। आक्रमणमा परी टाउकोमा चोट लागेका बालकको अवस्था उपचारपछि सामान्य रहेको वडाअध्यक्ष कादिरअलि अंसारीले बताए। मृतक चितुवालाई पोष्टमार्टमका लागि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र परासीमा पठाइएको वाग्लेले बताए।

 

 

 

lekbesi