गभर्नरले हुण्डी र क्रिप्टोकरेन्सी कारोबार रोक्न चासो दिएनन : अर्थमन्त्री शर्मा

काठमान्डौ – अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बन बैंककै ऐनअनुसार भएको बताएका छन्।

अर्थमन्त्री शर्माले मन्त्रालयमा आज सोमवार पत्रकार सम्मेलन गर्दै गभर्नर अधिकारीलाई सरकारले राष्ट्र बैंकको ऐन, कानुनअनुसार कारबाही गरेकाले त्यो कानुनसम्मत भएको दाबि गरेका हुन् ।

उनले भने गभर्नरलाई किन निलम्बन गरियो भन्ने बारेमा एउटा समिति बनाएका छौं । समितिले छानबिन गरेर हामीलाई प्रतिवेदन दिनेछ । त्यो प्रतिवेदनले यी सबै प्रश्नको जवाफ दिनेछ ,तपाईहरुले पनि यसको जवाफ पाउनुहुने छ।

lekbesi

अर्थमन्त्री शर्माले हुण्डी र क्रिप्टोकरेन्सी लगायत कारोबार रोक्नसमेत निलम्बित गभर्नर महाप्रसाद अधिकारीले चासो नदिएको गुनासो गरेका छन् । आफूले धेरै अघि क्रिप्टो कारोबार रोक्न ध्यानाकर्षण गराएपनि निलम्बित गभर्नरले चासो नदिएको र ग्रामिण क्षेत्रसम्म फैलिएपछि मात्रै झस्केको जस्तो भएको बताए ।

राष्ट्र बैंकले माघ ९ गते गैरकानुनी भर्चुअल करेन्सी अर्थात् क्रिप्टोकरेन्सी कारोबारमा संलग्नलाई कडा कारबाही गर्ने निर्णय लिएको थियो । मैले समयमै यो हुण्डी र क्रिप्टो लगायतबारे बाहिर हो-हल्लामा आउनुअघि नै पाँच महिनाअघि नै ध्यानाकर्षण गराएको थिएँ । तर गभर्नरको त्यसतर्फ कुनैपनि ध्यान गएन शर्माले भने। गभर्नरले कर्जा विस्तारमा पनि लापरवाही गरेर सरकारलाई असहयोग गरेकोप्रति अर्थमन्त्रीले संकेत गरे ।

यस्तै अर्थमन्त्री शर्माले देश श्रीलङ्का बन्छ भन्नु अफवाह मात्रै भएको बताए । सरकारले चुनाव खर्च र वृद्धभत्तासमेत दिन नसक्ने भनेर गरिएको प्रचार अफवाह मात्र भएको उनले दाबी गरे ।

अर्थमन्त्री शर्माले सरकारले निर्वाचन तथा अन्य सबै कार्यको लागि रकम निकासासमेत गरेको स्पष्ट पारे । अफवाह जोडेर देश श्रीलङ्का हुन्छ भन्नेतिर लैजान खोजिएको भन्दै मन्त्री शर्माले यस्तो अफवाह फैलाउनु राष्ट्रघात भएको सामेत जिकिर गरे।