स्थानीय चुनावमा गठबंधनका साझा उमेदवारलाई विजयी बनाउन प्रचण्डको आग्रह

काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा गठबन्धनका साझा उम्मेद्वारलाई विजयी गराउन आग्रह गरेका छन।

नयाँ वर्ष २०७९ को सुभकामना व्यक्त गर्दै देश, लोकतन्त्र र संविधानका विरुद्ध देखापरेको प्रतिगमनकारी षडयन्त्रलाई पाखा लगाउदै आफ्नो मत प्रकट गरि गठबन्धनका उमेदवारलाई विजयी गराउन आग्रह गरेका हुन।

लोकतन्त्र र संविधानको रक्षा गर्दै शान्ति र समृद्धिको यात्रामा देशलाई अगाडि बढाउने लक्ष्य बोकेको यस गठबन्धनलाई आगामी निर्वाचनमा आफ्नो अभिमत प्रकट गरी गठबन्धनका साझा उम्मेद्वारलाई विजयी गराउन पनि सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक अपील गर्दछु प्रचण्डले भनेका छन।

यस्तै नयाँ वर्षले नेपाली जनसमुदायमा आपसी मेलमिलाप, भातृत्व र राष्ट्रिय एकताको भावना विकास गराई सामाजिक न्याय सहितको समृद्धि हुँदै समाजवादको यात्रामा अग्रसर हुन प्रेरणाको पनि प्रचण्डले कामना गरेका हुन।

नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै निर्माण गरिएको नयाँ संविधान कार्यान्वयनको क्रममा हामी दोस्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न गर्न गइरहेका छौं ।

संघीयतालाई जनताको घरदैलोसम्म पुर्याउने स्थानीय सरकार निर्माणमा जनताको उत्साहप्रद सहभागिताले वर्तमान राजनैतिक परिवर्तनलाई अझ बढी संस्थागत र समृद्ध तुल्याएको दाहालको सुभकामनामा भनीएको छ।

देश, लोकतन्त्र र संविधानका विरुद्ध देखापरेको प्रतिगमनकारी षडयन्त्रलाई चिर्दै मुलुक, लोकतन्त्र र संविधानको रक्षामा निर्माण भएको प्रतिगमन विरोधी वाम–लोकतान्त्रिक गठबन्धन देश र जनतालाई केन्द्रमा राखी स्थानीय तहको निर्वाचनमा होमिएको पनि उनको भनाई छ।