सल्यानमा विप्लव चन्द समूहका २५ नेताले दिए उम्मेदवारी
वैशाख १३
सल्यान – सल्यानका तीन पालिकामा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका अध्यक्ष, उपाध्यक्षसहित २५ जनाले शाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
पार्टीले निर्वाचन बहिस्कार गर्ने घोषणा गरे पनि उनीहरुले स्वतन्त्र रुपमा छत्रेश्वरी, दार्मा र कुमाख गाउँपालिकामा उमेदवारी दिएका हुन् । छत्रेश्वरीमा अध्यक्षमा लोकमान खत्री, उपाध्यक्षमा हीरा बुढा र चार वडा अध्यक्ष, कुमाखमा अध्यक्षमा भीम भारती, उपाध्यक्षमा गणेश चन्दसहित तीन वडा अध्यक्ष र दार्मा गाउँपालिकामा अध्यक्षमा दलबहादुर केसी, उपाध्यक्षमा मदन चन्दसहित तीन वडा अध्यक्षमा उम्मेदवारी दिएको नेकपा सचिवालय सदस्य टंकप्रसाद केसीले बताए ।
उनले छत्रेश्वरी, दार्मा र कुमाख गाउँपालिका मात्र नभई त्रिवेणीमा नेकपा समर्थक दुई, कालिमाटीमा एक, बाग्चौर नगरपालिकामा चार जनाले वडा अध्यक्षमा उम्मेदवारी दिएको जानकारी दिए । पार्टीले निर्वाचन बहिस्कार गरे पनि एक पक्ष भने स्वतन्त्र रुपमा निर्वाचनमा होमिएको उनको भनाइ छ ।

वडा अध्यक्षमा उम्मेदवारी दिनेहरुमा छत्रेश्वरी गाउँपालिका १ बाट टोपबहादुर केसी, २ बाट टोपबहादुर डांगी, ३ बाट चुर्णबहादुर खड्का , ४ बाट लोकबहादुर ओली, कुमाखमा वडा नं ३ बाट गोपालनाथ योगी, ४ बाट जयराम केसी, ७ बाट जंगबहादुर चन्द, दार्मा १ बाट सुरेश चन्द, ३ बाट मोहनलाल केसी, ५ बाट चित्रबहादुर खड्का, त्रिवेणी १ बाट फूलकुमारी पुन, ३ बाट प्रेमबहादुर बुढा, कालिमाटी गाउँपालिका ६ बाट कृष्ण केसी, बाग्चौर नगरपालिका ३ बाट लालबहादुर सुनार र ८ बाट हेमन्त बुढाथोकी रहेको केसीले बताए ।