चुनावमा गाडी नदिएको भन्दै चालकमाथि एमाले कार्यकर्ताले गरे कुटपिट

रामेछाप – नेकपा एमालेका कार्यकर्ताहरूले रामेछापको रामपुरमा एक सवारी चालकमाथी कुटपिट गरेका छन।
सवारी चालक दानबहादुर तामाङलाई एमाले कार्यकर्ता तथा पूर्वगाविस उपाध्यक्षसमेत रहेका रमेश तामाङको समूहले शुक्रबार सांघातिक आक्रमण गरी घाइते बनाएको नेपाली कांग्रेसकी नेतृ कुमारी हायुले बताइन् ।
घाइते तामाङको रामेछाप अस्पतालमा उपचार भइरहेको छ चालक पनि काङ्ग्रेसका कार्यकर्ता हुन। उनको शरीरका विभिन्न भागमा कुटपिटका निलडाम हुनुका साथै अनुहारमा चोट लागेको छ ।


दानबहादुर तामाङको गाडी केही दिनदेखि नै नेपाली कांग्रेसले चुनावी अभियानका लागि भाडामा प्रयोग गर्दै आएको छ ।
कांग्रेसले प्रयोग गर्दै आएको गाडी मागेको तर आफ्नो गाडी अर्कैले भाडामा लिएकोले दिन नमिल्ने जनाएपछि एमाले कार्यकर्ताहरुले आफूमाथि आक्रमण गरेको तामाङले बताए।
तामाङ आक्रमणमा संलग्नहरूलाई कानुन बमोजिम कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन गएका छन् ।
प्रहरीले घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरेको र आक्रमणमा संलग्नको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजुप्रसाद ढकालले जनाएका छन् ।
