मन्त्री प्रेम आले लाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण
बैशाख २९
काठमाण्डाै – निर्वाचन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । मन्त्री आलेल आचारसंहिता उल्लङ्घन हुने गरी क्रियाकलाप गरेको विषयमा उजुरी परेको आयोगले जनाएको हो।
मन्त्री आलेविरुद्ध आयोगमा डोटीको जोरायल गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) को संयुक्त सभामा मतदाता भड्काउने र भोजभतेर गरेको तथा रकम बाँडेको उजुरी परेको छ ।
यस्तै आयोगले नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, माओवादी केन्द्रका प्रदेश सदस्य गङ्गा दाहाल, वीरगञ्जमा नगरप्रमुखका उम्मेदवार विजय सरावगीलाई पनि स्पष्टीकरण सोधेको छ । आयोगले एमालेका उपमहासचिव गुरुङले निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी मौन अवधिमा क्रियाकलाप गरेको विषयमा २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

आयोगले (माओवादी केन्द्र) का वाग्मती प्रदेश कमिटी सदस्य गङ्गा दाहालले मौन अवधिमा व्यक्तिगत फेसबुक पेजमा भरतपुरमा गठबन्धनका मेयरका उम्मेदवार रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीलाई मत मागेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।