चौरजहारी नगरपालिकाका एक मात्र पाईलटको एक वर्षमै मृत्यु
रुकुम पश्चिम -रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडान. ३ लापुलेगाउँका उत्सव पोखरेल पाइलटको रुपमा रहेर उडाएको तारा एअरको विमान आइतवार पोखराबाट जोमसोमका लागि ९ बजेर ५५ मिनेटमा उड्यो । साथमा थिए सिनियर पाइलट प्रभाकर घिमिरे।
उड्नुअघि जाजरकोटमा नलगाड नगरपालिकाको शिक्षा शाखाका कार्यरत बुबा मणिराम पोखरेलसँगको मोबाइल मा कुराकानी गरेका,पाईलट उस्व पोखरेलले भनेका थिए ‘बुबा म उडानको तयारीमा छु, पोखराबाट जोमसोम ।’
बुबाले भन्नुभयो ‘शुभयात्रा बाबु ।’ जाजरकोट सदरमुकामबाट कार्यक्षेत्र नलगाड नगरपालिकाको दल्ली नपुग्दै खबर सुनियो, तारा एअरको विमान सम्पर्कविहीन भएको । यस्तै पोखरेलले बिहानै टेलिफोन गरेर भनेका थिए, ‘दिउँसो काठमाडौं आउँछु, अनि आमासँग भेट्छु ।’तर उनको आमा भेट्ने सपना अधुरै रह्यो ।
त्यही विमान आज बिहान मुस्ताङको थासाङ गाउँपालिका-२ सानोसेरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । पूर्णरुपमा क्षतिग्रस्त विमानमा चालक दलका तीन सदस्य, चार भारतीय, दुई जर्मन र १३ जना नेपाली नागरिकसहित २२ जना रहेका थिए ।
उत्सव २५ वर्षका मात्र थिए , ३० अप्रिल २०२१ देखि तारा एअरको जहाजमा उडान थालेका उत्सवको जन्मस्थान चौरजहारीका एकमात्र र पहिलाे पाइलट हुन् । फिलिपिन्सको रोयल फ्लाइ एकेडेमीबाट ग्राजुएट गरेर एक वर्षअघि मात्रै नेपाल आएका उत्सव परिवारका कान्छा छोरा समेत हुन्।
भाइ पाइलट बनेपछि उनका दाजु उमेश पोखरेल पनि पाइलट बन्ने सपनामा फिलिपिन्समा पढिरहेका छन् । उत्सवका दुई दाजुभाइ मात्र हुन् । उत्सवका बुबा मणिराम जाजरकोट र आमा उषा दाङमा शिक्षण पेसामा आबद्ध छन्।
फिलिपिन्सबाट अध्ययन सक्काएर नेपाल आए लगत्तै तारा एअरमा काम गर्न थालेका उनले काम गरेको एक वर्ष एक महिना पुग्दा दुर्घटनामा परेका हुन् । उनिसहित विमानमा रहेका २२ जनाले मुस्ताङको मानापाथी हिमालको फेदीमा ज्यान गुमाएका छन् । यो दुर्घटनाको दु:खद खबरले सिङ्गो देशनै निसब्द भएको छ ।
आइतबार बिहान मुस्ताङमा दुर्घटना भएको तारा एयरको जहाजमा रहेका १४ जनाको शव फेला परेको छ। बाँकीको खोजी कार्य जारी छ।