प्रधानमन्त्री देउवा र ओलीसँगको भेटबारे मेयर बालेनको प्रष्टीकरण
काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवासंगको भेटबारे प्रष्टीकरण दिएका छन्। बुधबार सामाजिक सञ्जालमार्फत् भेटघाटलाई अन्यथा नलिइदिन समेत उनले अपिल गरेका छन्।
काठमाण्डौँको उन्नति, समृद्धि र सकारात्मक परिवर्तनका लागि हामीले छलफल गर्न, सुझाब समेट्न र सहकार्यका लागि पहल गर्न धेरै भन्दा धेरै व्यक्तित्वसँग भेटघाट गर्ने गरेका छौँ । यो सिलसिला उम्मेदवारी घोषणा गर्नु भन्दा पहिलेदेखि सुरु भएर निकै पछिसम्म पनि रहिरहने पनि उनले बताएका छन्।
समय अनुकुलताका कारण कसैसँग अघि वा पछि भेट हुन सक्छ । यसलाई अन्यथा नबुझिदिन अपिल गर्दछौँ शाहले भनेका छन्। यस्तै उनले लेखेका छन्, ‘स्वतन्त्र हुनुको अर्थ कुनै पनि पार्टी वा समूह वा नेताप्रति निरपेक्ष रहनु पनि हुन्छ। सबैसँग सम्मानजनक निकटताको अभ्यास गर्नुमा पनि हुन्छ।
मतगणना भइरहँदा उनले बालकोट पुगेर पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका थिए। त्यसैगरी उनले मेयरको कार्यभार सम्हालेकै दिन नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई जंगीअड्डा पुगेर भेटेका थिए। शाहले बुधबार प्रधानमन्त्री देउवासँग बालुवाटार पुगेर भेट गरेका थिए।