तारा एयर जहाज दुर्घटनामा ज्यान गुमाउनेहरको शव परिवारलाई बुझाइयो
जेठ १९
काठमाण्डाै- गत आईतबार तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव मृतकका परिवारलाई बुझाईएको छ। पोखराबाट मुस्ताङतर्फ उडेको ९ एन एईटी ट्विनअटर तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा दुर्घटना हुँदा २२ जनाको निधन भएको थियो ।
निधन हुनेहरुको शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरेर मृतकको परिवारलाई बिहीबार हस्तान्तरण गरिएको हो । दुर्घटनामा परेको जहाज सोमबार बिहान फेला परेको थियो। सोमबार र मंगलबार गरी दुई चरणमा शवहरुलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।
तारा एयर प्रालिका अनुसार चालक दलमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को–पाइलट उत्सव पोखरेल र एयरहोस्टेस क्रिस्मी थापा थिए। १९ यात्रुमा तुल्सादेवी तामाङ, सुकुमाया तामाङ (धनुषा), राममाया तामाङ (काठमाडौं), मकरबहादुर तामाङ (धनुषा), रोजिना श्रेष्ठ (गोरखा), रश्मी श्रेष्ठ (गोरखा), रविना श्रेष्ठ (गोरखा), गणेशनारायण श्रेष्ठ (गोरखा), राजनकुमार गोले (धनुषा), पुरुषोत्तम गोले (धनुषा), इन्द्रबहादुर गोले (धनुषा), प्रकाश सुनुवार (ओखलढुंगा), बसन्त लामा (काठमाडौं) थिए। यस्तै, मेइक ग्रिट ग्राफ (जर्मनी), वी विल्नर (जर्मनी), भाइभावी बान्डेकर (भारत), अशोककुमार त्रिपाठी (भारत), धनुष त्रिपाठी (भारत) र ऋतिका त्रिपाठी (भारत) थिए।