एकीकृत समाजवादीमा को को बन्दै छन् नयाँ मन्त्री

जेठ २२

काठमाडौं- नेकपा एकीकृत समाजवादीले नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ।आइतबार बसेको समाजवादी सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेको हो।

पार्टी अध्यक्ष माधवकुमार नेपालले साँझ प्रधानमन्त्री देउवालाई भेटेर नयाँ मन्त्रीहरुको नाम बुझायको एक नेताले बताए। उनकाअनुसार सहरी विकास मन्त्रालयमा मेटमणी चौधरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भवानी खापुङ, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा जीवनराम श्रेष्ठ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा शेरबहादुर कुँवरको नाम सिफारिस गरिएको छ।

त्यसैगरी हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। स्वस्थ्य राज्यमन्त्री खापुङलाई मन्त्रीमा बढुवा गरेर उनको ठाउँमा केसीलाई ल्याइएको हो।

प्रधानमन्त्री देउवाले मन्त्री नियुक्ति गरेपछि राष्ट्रपतिले सपथ खुवाउने कार्यक्रम छ। एकीकृत समाजवादीले रामकुमारी झाँक्री, विरोध खतिवडा, किसान श्रेष्ठ र प्रेम आलेलाई फिर्ता बोलाएको हो। ६ महिनाका लागि पठाइएको र समयावधि पूरा भएकाले फिर्ता बोलाएको पार्टीका बरिस्ठ नेता झलनाथ खनालले जानकारी दिए।