प्रधानमन्त्री देउवाले फेरी गैरसांसदलाई मन्त्री बनाउदै
जेठ २२
काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्मा अर्का गैरसांसद मन्त्री बन्न लागेका छन् । नेकपा एकीकृत समाजवादीले गैरसांसद शेरबहादुर कुँवरलाई मन्त्री बनाउनका लागि सिफारिस गरी प्रधानमन्त्री देउवासमक्ष पठाएको छ ।
सत्तारुढ एकीकृत समाजवादीले आइतबार पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेको हो । प्रधानमन्त्री देउवालाई बुझाइएका मन्त्री बन्नेहरूको सूचीमा संघीय सांसद नरहेका अछामका शेरबहादुर कुँवर पनि छन् ।
एकीकृत समाजवादीले कुँवरलाई श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारीमा सिफारिस गरेको हो । कुँवर यसअघि राष्ट्रिय सभा सदस्य थिए । उनले गत फागुनमा राष्ट्रिय सभाको चार वर्षे कार्यकाल पूरा गरेका थिए । कुँवर एकीकृत समाजवादीका केन्द्रीय नेता हुन् ।
देउवा मन्त्रिपरिषद्मा यसअघि नै गैरसांसद मन्त्री बनेका छन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइराला गैरसांसदका रूपमा मन्त्री छन् ।संविधानको धारा ७८ मा संघीय संसद्को सदस्य नभएको व्यक्ति मन्त्री हुने व्यवस्था छ ।
‘राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्को सदस्य नभएको कुनै पनि व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्नेछ,’ संविधानको उक्त धारामा लेखिएको छ, ‘मन्त्रीले शपथग्रहण गरेको मितिले ६ महिनाभित्र संघीय संसद्को सदस्यता प्राप्त गर्नुपर्छ ।’
उक्त अवधिभित्र सांसद बन्न नसकेमा तत्काल कायम रहेको प्रतिनिधिसभाको कार्यकालभर ती व्यक्ति पुनः मन्त्रीमा नियुक्त हुन अयोग्य हुने संविधानमा व्यवस्था छ ।देउवाको नेतृत्वमा रहेको सरकारमा गोविन्दप्रसाद शर्मा कोइराला चैत अन्तिम साता मन्त्री भएका थिए ।
त्यसअघि देउवाले सांसद नरहेका गजेन्द्र हमाललाई मन्ती बनाएका थिए । हाल निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको सिफारिसमा हमाल मन्त्री भएको भन्ने विषयले विवाद भएपछि उनले राजीनामा दिएका थिए ।
एकीकृत समाजवादीको सचिवालय बैठकले जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरीलाई सहरी विकासमन्त्री, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगारमन्त्री बनाउने निर्णय गरेको थियो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई फिर्ता बोलाएर राज्यमन्त्री रहेका भवानीप्रसाद खापुङलाई बढुवा गरिएको छ ।संघीय संसद् राष्ट्रिय सभामा एकीकृत समाजवादीका ८ सांसद् छन् । त्यस्तै, प्रतिनिधिसभामा २३ सांसद रहेका छन् ।