दाङमा सडक खन्दा दुई सय बर्ष पहिलेका ऐतिहासिक सिक्का भेटिए
काठमाडौं – दाङको तुलसीपुर उपमहानगरपालिका,४ रक्षाचौरमा परम्परागत ब्रिटिस पालाका सिक्का भेटिएका छन् । बिहीबार उक्त स्थानमा सडक ट्रयाक खन्ने क्रममा सिक्का भेटिएका हुन् ।
गोटीखोलाबाट सीमरामा सडकको नयाँ ट्रयाक खोल्ने क्रममा डोजर चालक सुवास चौधरीले एक भाडोमा ती सिक्का भेट्टाएका थिए । सोहि क्षेत्रमा दुईवटा डोजरले सडक खनिरहेका थिए । अर्का राजन खड्काले त्यहाँ जेसिभी चलाउने गरेका थिए। सुवासले फेला पारेका ति सिक्का राजनले पनि आफ्नो भागमा पार्नुपर्ने माग गरेपछि सुवासले दिन मानेन,लागतई यो कुरा बाहिर आएको छ ।
लगतै राजनले सम्बन्धित जग्गावालालाई जानकारी गरे । सिक्का फेला परेको जग्गा तुलसीपुर ४ रक्षाचौर निवासी शोभा भण्डारीको हो । त्यसपछि जग्गाधनीले त्यहाँ सिक्का भेटिएको कुरा प्रहरीलाई जानकारी गराएका थिए ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार ५३७ सिक्का भेटिएका छन् । तीमध्ये ७६ वटा एक रुपैयाँ लेखेका भारतीय सिक्का र ४६१ वटा श्री ३ लेखिएका नेपाली सिक्का रहेका छन् । ती सिक्का तुलसीपुर १५ निवासी सुवासले घर लगेका थिए ।
सिक्का भेटिएको कुरा जग्गाधनीले प्रहरीलाई खबर गरेपछि प्रहरीले अनुसन्धान गर्दा सुवासकै घरमा लुकाइ छिपाई राखेको अवस्थामा बरामद गरेको गरिएको हो।
सिक्कामा विसं १८०० तथा पृथ्वीनारायण शाह लेखिएको प्रहरीले बताएको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । भेटिएका सिक्का सम्बन्धित निकायमा पठाउने तयारि भईरहेको प्रहरी निरीक्षक शाहीले बताए ।