बच्चा जनमाएको केहि घन्टामा घाँटी थिचेर हत्या गर्ने महिला पक्राउ
मङ्सिर २
सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा नवजात शिशुको हत्या गरेको आरोपमा एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ। हेलम्बु गाउँपालिका,५ कल्लेरी बस्ने २२ वर्षीया रबिना तामाङलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी शिवकुमार बुढाथोकीले जानकारी दिए।
मंगलबार राति साढे ८ बजे रबिनाले छोरालाई जन्माएपछि घाँटी थिचेर हत्या गरेको प्रहरीले जनायो। हत्यापछि घरभन्दा ५० मिटर टाढा रहेको सार्वजनिक खरबारीमा दुई फिट खाडल खनेर उनले शिशुलाई पुरेकी थिइन्।
शिशुको हत्यापछि पुरेको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय हेलम्बुबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

शवको पोष्टमर्टमको लागि अस्पतालमा पठाएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार रबिनाका श्रीमान तीन वर्षदेखि विदेशमा छन्।