प्रधानमन्त्री प्रचण्डको निर्देशनमा मलेसियामा बन्धक बनाईएका १३ नेपाली भोलि स्वदेश आउँदै

काठमाडौं । मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली नागरिकको उद्दार भएको छ। उद्धार भएकामध्ये ६ जना भोली स्वदेश फर्किने भएका छन् ।

नेपालबाट मलेसिया गएका नेपालीहरु समस्यामा परेको गुनासो आएपछि बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बन्धक बनाइएका र समस्यामा परेका अरु नेपालीको अवस्था बुझी तत्काल उद्दार पहल गर्न मुख्यसचिव शंकरदास बैरागीलाई निर्देशन दिएका थिए।

प्रधानमन्त्रीको निर्देशनका आधारमा सरकारले परराष्ट्र मन्त्रालयमार्फत मलेसियास्थित नेपाली राजदूतावाससँग सम्पर्क गरेको थियो।

lekbesi

बन्धक बनाइएका नेपालीहरुको अवस्था बुझेर तत्काल उद्दारका लागि पहल गरेपछि मलेसियाको पीआरएस फोरेस्ट म्यानेजमेन्ट कम्पनीमा कार्यरत १३ नेपाली नागरिक स्वदेश फर्किने भएका हुन्।

मलेसियास्थित नेपाली राजदूतावासले प्रधानमन्त्री कार्यालयलाई दिएको जानकारीअनुसार उक्त कम्पनीमा काम गर्न गएका सबै १३ श्रमिकलाई म्यानपावर कम्पनीले खर्च व्यहोर्ने गरी नेपाली होटलमा खाने र बस्ने व्यवस्था गरेको छ।

दूतावासको पहलमा उनीहरुमध्ये ६ जना मंगलबार र ७ जना पुष २९ गते नेपाल फर्किने भएका हुन्। यसैगरी मलेसियाका एक अन्य कम्पनीमा समस्यामा परेका २८ जना नेपाली श्रमिकहरुको समस्या हल गर्नसमेत पहल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।