फुटबल मैदानमा हेलिकप्टर अवतरण गराउने पाईलटमाथी कुटपिट
काठमाडौं – स्याङ्जाको वालिङ फुटबल मैदानमा हेलिकप्टर अवतरण गराएको भन्दै पाईलटमाथी युवाहरुले कुटपिट गरेका छन।
हेलिकोप्टर पाइलटमाथि कुटपिट गर्ने समूहलाई कारबाही गर्न वायुसेवा सञ्चालक संघले माग गरेको छ ।
प्रभु हेलिकप्टर्स प्रालिको हेलिकोप्टर बिहीबार दिउँसो पोखराबाट उडेर स्याङ्जामा २ः२४ मा अवतरण गरेको थियो ।
यात्रुले दिएको जीपीएस कोर्डिनेट अनुसार हेलिकोप्टर वालिङको फुटबल मैदानमा अवतरण गरेको थियो । सो क्रममा क्याप्टेन रानेश डंगोलमाथि स्थानीय समूहले कुटपिट गरी घाइते बनाएको संघले जनाएको छ ।
वायुसेवा सञ्चालक संघले उक्त कार्यको भर्त्सना गरेको छ । जीउ ज्यानको प्रवाह नगरी अहोरात्र दुर्गम क्षेत्रका बासिन्दाको सेवामा खटिई सुत्केरी, बिरामीलगायत अन्य संवेदनशील मानवीय तथा विकास निर्माणमा संलग्न हुने क्याप्टेनमाथि कुटपिट हुनु निन्दनीय रहेको संघको भनाइ छ ।
बिहीबार भएको घटनाको छानबिन गरी दोषीमाथि कारबाही र सुरक्षाको पूर्ण प्रत्याभूति गराउन समेत संघले माग गरेको छ ।माघ ६