विद्युत प्राधिकरणले धुर्मुस सुन्तली फाउन्डेसनको बिजुली लाइन काट्ने

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले धुर्मुस सुन्तली फाउन्डेसनको काठमाडौंस्थित कार्यालयको बिजुली लाइन काट्ने भएको छ ।

चितवनको भरतपुर वितरण केन्द्रले बुधबार भरतपुरमा क्रिकेट रंगशाला बनाउँदा लिएको बिजुली सुविधाको बक्यौता महसुल असुलीका लागि काठमाडौंको प्राधिकरणको बानेश्वर वितरण केन्द्रमा पत्राचार गरेको छ ।

पत्रमा फाउन्डेसनको पुरानो बानेश्वरस्थित कार्यालयको लाइन काटेर बक्यौता असुलीमा गर्न अनुरोध गरिएको छ ।
फाउन्डेसनले ९ लाख ७४ हजार ७८० रुपैयाँ महसुल तिर्न बाँकी छ । यस्तै पत्रमा ६ महिनादेखि फाउन्डेसन सम्पर्कविहीन भएको उल्लेख छ ।

७ महिनाअघि फाउन्डेसनले एक महिनाभित्रै बक्यौता तिर्ने प्रतिवद्धता जनाएको थियो । तर, फाउन्डेसनले बक्यौता नतिरेपछि ६ महिनाअघि रंगशालाको लाइन काटिएको थियो ।

भरतपुर वितरण केन्द्रका प्रमुख राजीव सिंहका अनुसार पटक-पटक ताकेता गर्दा पनि फाउन्डेसनका सञ्चालक र पदाधिकारी सम्पर्कमा नआएकाले फाउन्डेसनका सबै कार्यालयहरुमा लाइन काट्न लागिएको बताउँछन् ।

उनले भने ‘हामीलाई बक्यौता उठाउनुपर्ने कानुनी दबाब छ, हामी बाध्य छौं ‘विधिअनुसार नै लाइन काटेर बक्यौता असुल्छौं ।
धुर्मुस सुन्तली फाउन्डेसनले क्रिकेट रंगशाला निर्माणका क्रममा करिब १८ करोड ऋण लागेको भन्दै परियोजनाबाट हात झिकेको छ । यस्तो ऋण तिर्ने कानुनी व्यवस्था नभएपछि सरकारले परियोजना जिम्मा लिएर निर्माण अघि बढाउने योजना समेत अलपत्र परेको छ ।माघ ११