अझै गृहमन्त्री पाउने आशामा रवि दुई दिन पर्खिने
काठमान्डौ – राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने भएको छ । आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले दुई दिन पर्खिने तथा सरकारलाई मार्गदर्शन गर्न बनेको उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन माग गर्ने निर्णय गरेको हो ।
केन्द्रीय समिति र संसदीय दलको बिहीबार बसेको संयुक्त बैठकमा अधिकांश नेताहरुले अहिले पर्ख र हेर को नीति लिनुपर्ने सुझाव दिएका छन् ।
उच्चस्तरीय संयन्त्रको बैठक पर्खने र पर्ख र हेरको नीतिमा बस्छौं’ ,सरकारबाट तत्काल बाहिरीएमा कमजोरी र कच्चा व्यवहार हुन्छ भन्ने अधिकांशको धारणा आएको छ ।
बैठकपछि रास्वपाका प्रवक्ता मुकुल ढकालले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले २ दिन पर्खन आग्रह गरेको जानकारी दिए ।
‘प्रधानमन्त्री र एमाले अध्यक्ष केपी शर्मा ओलीले हाम्रा अध्यक्षलाई बैठक चलिरहेका बेला फोन गरेर समय माग्नु भएको छ’ ढकालले भने,’त्यसैले हामीले अहिले उहाँहरुले गर्नुहुन्छ हेर्छौं । २ दिनमा पनि केही गर्नु भएन भने हामी फेरि पार्टीको बैठक बसेर निर्णयमा पुग्छौं ।
रास्वपा अध्यक्ष लामिछानेले बिहीबार दिउँसो सामाजिक सन्जालमा आफू अभिमन्यू बनेर नबस्ने भन्दै सरकारबाट बाहिरिने चेतावनी दिएका थिए । उक्त चेतावनी दिएपछि उनले पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएका थिए।
गृहमन्त्रालय नपाए सरकारबाट बाहिरीने चेतावनी दिएका रवि लामिछाने अहिले पछि हटेका छन । माघ १९