टर्कीमा गएको महाभूकम्पका कारण ज्यान गुमाउनेको संख्या १७ सय नाघ्यो
काठमान्डौ – टर्कीमा गएको महाभूकम्पका कारण गुमाउनेको सङ्ख्या अहिले सम्म कम्तीमा १ हजार ७ सय ९७ जना पुगेको छ ।
अहिलेसम्म भूकम्पको केन्द्रविन्दु रहेको टर्कीमा १ हजार १४ जना र र छिमेकी देश सिरियामा ७ सय ८३ जना गरी कम्तीमा १ हजार सात सय ९७ जनाको ज्यान गएको पुष्टि भएको बीबीसीले जनाएको छ ।
भूकम्पका कारण भत्किएका संचरनाले पुरेको ठाउँमा खोजी भइरहेकोले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यस्तै दुवै देशमा गरी ६ हजार जनाभन्दा धेरै घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको र घाइतेहरूको विवरण सङ्कलन गर्ने काम भइरहेको सीएनएनले जनाएको छ ।
टर्कीमा स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा ७ दशमलव ८ रेक्टर स्केल र दिउँसो १ बजेर २४ मिनेटमा ७ दशमलव ५ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको हो ।
दिउँसोको भूकम्पले खोजी र उद्धारमा थप समस्या भएकाे छ ।
अरू कैयौँ परकम्पहरू गइरहेका बीबीसीले जनाएको छ ।
टर्कीले राष्ट्रिय सङ्कटकाल घोषणा गरेको छ र अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । यसैबीच अमेरिकाले विपद्का विवरणबाट आफू चिन्तित रहेको जनाएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडनले कसरी मद्दत पुर्याउन सकिन्छ भनेर विश्लेषण गर्न देशको अन्तर्राष्ट्रिय सहायता निकायलाई निर्देशन दिएको बीबीसीले जनाएको छ ।
युरोपेली सङ्घले टर्कीमा खोजी तथा उद्धार टोली पठाइरहेको जनाएको छ । बेलायत र रोमानियाका खोजी तथा उद्धारकर्ताहरू उद्धार कार्यमा सघाउन निस्किसकेका छन् । फ्रान्स र जर्मनीसहितका देशले सहयोग गर्ने बताएका छन् ।
टर्की विश्वको सबैभन्दा सक्रिय भूकम्पीय क्षेत्रहरूमध्ये एक हो । सन् १९९९ मा उत्तर–पश्चिममा शक्तिशाली भूकम्प गएपछि १७ हजार जनाभन्दा धेरै मानिसले ज्यान गुमाएका थिए । माघ २३