गायक प्रमोद खरेलले जिते प्रतिलिपी अधिकारको मुद्दा
काठमाडौं – जिल्ला अदालत काठमाडौंले प्रतिलिपी अधिकार उल्लंघनको विषयमा विन्धवासिनी म्यूजिक प्रा लि का सञ्चालक लिला शर्मा रेग्मी र सुवास रेग्मीलाई दोषी ठहर गरेको छ ।
न्यायाधीश उत्तम सिलुवालको इजलासले उनीहरुलाई प्रतिलिपी अधिकार उल्लंघनको आरोपमा दोषी ठहर गरेको हो ।
जिल्ला अदालतले उनीहरुमाथि ३ वर्ष भन्दा बढी कैद हुने भएपछि सजाय निर्धारणका लागि फेरि सुनुवाइ गर्न आदेश दिएको छ ।
गायक प्रमोद खरेलले आफूमा निहित प्रतिलिपी अधिकारको विन्धवासिनी म्यूजिक प्रालीले दुरुपयोग गरेको भनी प्रहरीमा जाहेरी दिएका थिए ।त्यसका आधारमा सरकारी वकिलले उनीहरुमाथि मुद्दा चलाएका थिए ।
यस्तो छ विवाद ,
गायक प्रम्रोद खरेलका अनुसार उनको तेस्रो गीती एल्बम ‘प्रणय’का केही गीतमा विवाद बढेको हो। प्रणय एल्बम बिक्री वितरण तथा एल्बम प्रकाशनको लागि प्रमोदले विन्ध्यवासिनी म्युजिक कम्पनीलाई ५ वर्षको लागि सम्झौता गरेका थिए ।
प्रमोदले कम्पनीबाट १ लाख १० हजार बुझेका थिए। एल्बमको पहिलो गीतको भिडियो बनाउन कम्पनीले एक लाख दिने गरी सम्झौता भएको थियो। जसमा २ लाख बराबर प्रमोशन खर्च कम्पनीले गरिदिने शर्त राखिएको थियो। जसमा कम्पनीले गरेका खर्च गीतको आम्दानी पश्चात प्रमोदको रोयल्टीबाट कटौती गर्ने र त्यसपछि प्रमोद आम्दानीको हिस्सेदार बन्ने सहमति भएको थियो।
प्रमोदका अनुसार गीतको सबै खर्च आफूले पाउने रोयल्टीबाट असुल गरिएपछि गीतको निर्माता आफू भएको दावी छ। गीतको बाँकी खर्च र विमोचन पनि स्वयम् गरिएको छ ।
एल्बमको दोस्रो गीत कम्पनीले नबनाएपछि प्रमोदले नै आफै निर्माण गरे। करारमा एल्बमको सम्पुर्ण अधिकार आफुमा रहेको र करार पाँच वर्षको मात्र भएको उनले बताएका छन्।
करार सकिएपछि पनि उक्त गीतको अधिकार आफुमा रहेको भन्दै कम्पनी संचालकले आफुलाई बारम्बार दबाब दिने र विभिन्न किसिमका आरोप लगाउँदै मानहानी गरेको प्रमोदले बताएका छन्। कम्पनीले अहिलेसम्म कुनै हिसाब किताब समेत नबुझाएको प्रमोदले बताए ,आफ्नो एलबम फिर्ता माग्दा कम्पनि संचालकले गरेको व्यबहारपछि आफुले कानुनि उपचार खोजेको खरेलले बताए। भदौ २१