प्रधानमन्त्री प्रचण्डले चीनमा हुने बिजनेस समिटलाई सम्बोधन गर्ने

काठमान्डौ – चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हाङझाउबाट राजधानी बेइजिङ जाँदै छन। उनि बिहान ९ बजे बेइजिङका लागि प्रस्थान गर्ने तयारी रहेको छ।

प्रधानमन्त्री प्रचण्डलाई ११ बजे बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ मन्त्रीले स्वागत गर्ने र विमानस्थलबाट बेइजिङको स्टेट गेष्ट हाउसमा प्रस्थान गर्ने कार्यक्रम छ ।

आज दिउँसो ४ बजे नेपाल-चीन बिजनेस समिटमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुनेछन । बिजनेस समिटमा चीनका उच्चस्तरीय अधिकारीसहित नेपालबाट गएका उद्योगी व्यवसायीको टोली पनि सहभागी हुनेछ ।

यो समिटलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नुहुनेछ । त्यसपछि प्रचण्ड बेइजिङमा रहेको नेपाली राजदूतावासमा आयोजित रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ ।

भोलि प्रधानमन्त्री प्रचण्डकाे समकक्षी ली छ्याङ तथा अन्य उच्चस्तरीय अधिकारीहरुसँग भेटवार्ता हुनेछ ।
हिजो प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सी जीनपिङबीच हाङझाउमा भेटवार्ता भएको थियो ।

प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच एक्लाएक्लै र प्रतिनिधिमण्डलसँग सामूहिकरूपमा समेत गरी एक घण्टा लामो छलफल भएको थियो ।

नेपालले स्वतन्त्र र असंलग्न परराष्ट नीति अङ्गिकार गरेको र यो वा त्यो नामका कुनै पनि सैन्य रणनीतिक योजनामा सामेल हुन नसक्ने प्रचण्डले चिनियाँ पक्षलाई आश्वस्त पारेका छन। यो भेटवार्तापछि प्रचण्ड एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम छ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभालाई सम्बोधन गरेर न्युयाेर्कबाट हिजो बिहान चीन पुगेका हुन। प्रधानमन्त्री प्रचण्डसहितको टोली सेप्टेम्बर ३० आउँदो शनिवार नेपाल फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। असोज ७