माओवादी पार्टीले उपचारमा वेवास्ता गर्दा उपाध्यक्ष कृष्ण बडुवालको निधन
असोज ११
काठमाडौं – नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्ण बडुवाल (महेश)को निधन भएको छ ।
तीन महिने अभियानमा खटिएका उनलाई पार्टीले वेवास्था गर्दा मृत्यु भएको हो। तीन महिने अभियानमा खटिएका उनलाई लामोसमयबाट निमोनिया भएको थियो ।
माओवादी केन्द्रको तीन महिने रुपान्तरण अभियानको क्रममा डोटीमा खटिएका बडुवाल स्वास्थ्यमा समस्या आएपछि गृहजिल्ला कैलाली फर्किएर सामान्य उपचार गराउँदै आएका थिए ।
स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि भारतको लखनउ लैजाँदै गर्दा बाटोमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
बडुवाल जनयुद्धको क्रममा सुर्खेत जेल ब्रेक गरेर उम्किएका राम्रा नेता थिए ।
गत २०७१ साल असोज २० गते डोटीको कटकटे भन्ने स्थानमा भएको बस दुर्घटनामा परी बडुवालकी श्रीमती र एक छोराको मृत्यु भएको थियो । सो बस दुर्घटनामा २९ जनाको मृत्यु भएको थियो ।
निमोनियाले गलाउँदै लगेपछि उनलाई काठमाडौंमा उपचार गर्न ल्याउने भनेर नेपालगञ्ज एयरपोर्टसम्म ल्याइएको थियो । तर हवाईजहाजका कर्मचारीहरुले धेरै उचाइबाट उड्नुपर्ने भएकाले बिरामीलाई झन् समस्या पर्ने भन्दै ल्याउन मानेनन् ।
त्यसपछि हेलिकप्टरको प्रबन्ध गर्न खोज्दा पनि नसकेपछि एम्बुलेन्समार्फत् भारतको लखनउ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको निकट श्रोतले जनाएको हो ।
‘हेलिकप्टरको व्यवस्था गरिदिन भनेर धेरै नेताहरुलाई भनियो, गृह मन्त्रालयमा पनि भनियो तर सबैले सामान्य रुपमा लिइदिए बडुवालसँग निकट सम्बन्धमा रहेका पत्रकार दीपेन्द्र रावलले भने । ‘त्यसले गर्दा माओवादी केन्द्रले सुदूरपश्चिमको एकजना राम्रो नेता गुमायो ।
बडुवाल सुदूरपश्चिममा जनसम्बन्ध राम्रो भएका नेताको रुपमा पार्टीभित्र चिनिन्छन् । उनी २०६४ सालको संविधानसभा सदस्य भगतबहादुर बडुवालका भाइ हुन् ।