सुर्खेतको उषा बालवाटिका स्कुल कक्षा २ मा पढ्ने बालक झुण्डिएको अवस्थामा फेला
असोज १३
सुर्खेत- सुर्खेतको- वीरेन्द्रनगर नगरपालिका ६ को मुख्य बजार क्षेत्रमा रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा एकजना ८ वर्षका बालक मृत भेटिएका छन्।
घण्टाघर नजिकको उक्त होस्टेलमा गएराति चामुण्डा बिन्द्रासैनी नगरपालिका दैलेखका सलाम पुलामी मगर झुण्डिएको अवस्थामा मृत भेटिएका थिए ।
उनी कक्षा २ मा पढ्थे । बालकको मृत्यु शंकास्पद रहेको भन्दै उनका आफन्तहरु विद्यालमा तोडफोड र आगजानी गरेका छन् ।
बालकको शव बुझ्न नमानेका आफन्तले विद्यालयमा आगजनी गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ । स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
आफन्तहरुले घटना शंकास्पद रहेको भन्दै शव उठाउन मानेका छैनन् । घटनास्थलको मुचुल्का गरेर शव उठाउने काम भइहरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी योगेन्द्रसिंह थापाले जानकारी दिए ।
घटनाको छानबिन गर्नुपर्ने भन्दै आक्रोशित भिड तोडफोडमा नै उत्रिएपछि भिडलाई साम्य पार्न प्रहरीले अश्रु ग्याँस समेत प्रहार गरेको थियो । प्रहरी र आन्दोलनकारीबीचको झडपले उषा विद्यालयको परिसर तनावग्रस्त बनेको छ ।