मापसे गरेर दशैमा सवारीसाधन चलाउने चार जना चालक पक्राउ
कार्तिक ३
काठमान्डौ – दशैँका अवसरमा यात्रु बोक्ने सार्वजनिक सवारीसाधानका चालकले लागुपदार्थ सेवन गरेर गाडी चलाएको भेटिएको छ।
चाडपर्व लक्षित विशेष जाँच अभियानका क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसरी मापसे गरेर सवारी चलाउने चार जनालाई पक्राउ गरि कारबाही अगाडि बढाएको छ ।
जसमध्ये दुई जना बस चालक छन भने दुई जना ट्रकका चालक रहेको ट्राफिक प्रहरीले जनाएको छ।
विशेष जाँच अभियानका क्रममा काठमाडौंको नागढुङ्गामा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउँदै गरेका उनीहरूलाई पक्राउ गरी कारबाही अघि बढाइएको कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले आज जानकारी दिए।
उनका अनुसार ना ७ ख ५३२ नम्बरका ट्रकचालक धादिङको थाक्रे गाउँपालिका–२ का २९ वर्षीय रामकुमार सुवेदी, बा४ख ५७४८ नम्बरका बसचालक काठमाडौंको तारकेश्वर नगरपालिका–१ का २६ वर्षीय दिपेश सापकोटा, प्रदेश३०१००६ख २५४६ नम्बरका ट्रकचालक काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–९ का ३१ वर्षीय रामकुमार गौतम र ना६ख ९६९३ नम्बरका बसचालक कैलालीको धनगढी उपमहानगरपालिका–१ बस्ने ४४ वर्षीय दीप श्रेष्ठलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको उनले बताए।