विद्युत महशुल नतिरेका भन्दै एनसेलको ६ वटा टावरको लाईन काटियो
पुस १३
मकवानपुर – वक्यौता विद्युत महशुल नतिरेका भन्दै एनसेलको ६ वटा टावरको लाईन काटीएको छ।
पालुङ वितरण केन्द्रले एनसेलको ६ वटा टावरको लाईन काटेको हो । उत्तरी मकवानपुरका विभिन्न स्थानमा रहेका टावरहरुमा जडित विद्युत लाईनको वक्यौता रकम विगत चार महिनादेखिको नबुझाएको भन्दै प्राधिकरणले लाईन काटेको हो ।
पालुङ वितरण केन्द्र अन्तर्गत थाहा नगरपालिका र ईन्द्रसरोवर गाँउपालिकाका विभिन्न स्थानमा एनसेलका १३ वटा टावर जडित छन् ।
उक्त टावरहरुको ७ लाख ४३ हजार वक्यौता बुझाउन बाँकी रहेको पालुङ वितरण केन्द्रका प्रमुख माधब न्यौपानेले बताए ।
सिमभन्ज्याङ्ग, कुलेखानी देउराली, सल्ले, फाखेल, मार्खु तथा कुन्छालमा रहेका टावरहरुको लाईन काटेको हो ।
वक्यौता बुझाउन पटक आग्रह गर्दा समेत अटेर गरेकाले बाध्य भएर लाईन काटिएको र महशुल नुबझाए क्रमशः सबै टावरको लाईन काटिने प्रमुख न्यौपानेले बताए ।
विगत ३ महिनामा मात्रै पालुङ प्राधिकरणले २ सय भन्दा बढी ग्राहकको लाईन काटेर ९० लाख बक्यौता रकम उठाएको छ ।