जहाज किन्न होडबाजी महिनामा भित्रिय २७ अर्बका विमान ,,

साउन,१० , काठमाडौं – झण्डै एक महिनाबीचमा नेपाली एयरलाइन्स (वायुसेवा) कम्पनीहरुले पाँचवटा नयाँ विमान भित्र्याएका छन् । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्ससहित बुद्ध एयर, श्री एयर र तारा एयरले नयाँ विमान भित्र्याएका छन् । असार ४ गतेयता मात्रै झण्डै २७ अर्ब १० करोडभन्दा बढी मूल्य बराबरका विमान भित्रिएका छन् । पछिल्लोपटक बिहीबार नेपाल एयरलाइन्सको दोस्रो वाइड बडी एयरबस ए ३३०-२०० विमान आइपुगेको छ ।

नेपाल एयरलाइन्सले मात्रै करिब २३ अर्ब ७० करोड रुपैयाँ बराबर खर्चिएर नयाँ दुई एयरबस भित्र्याएको छ । असारको दोस्रो हप्तामा राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले करिब ११ अर्ब ८५ करोड बराबर खर्चिएर नेपालकै पहिलो वाइडबडी भित्र्याएको थियो । असार १४ गते ल्याएको सो एयरबसलाई ‘अन्नपूर्ण’ नाम दिइएको थियो भने बिहीबार आइपुगेको विमानको नाम ‘मकालुु’ राखिएको छ । नयाँ एयरबसको कल साइन ९ एनएलजेट हो ।

निगमले युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको जहाज अमेरिकाको एएआर कम्पनीसँग किनेको हो । फ्रान्सको टुलुसबाट ल्याइएका दुबै विमानको लागत २ सय ९ दशमलव ६ मिलियन अमेरिकन डलरमा किनिएको हो । यी दुई विमानको भन्सार महसुल झण्डै २४ करोड बराबर तिर्नुपर्ने भन्सार अधिकारीहरु बताउँछन् ।

दुबै वाइड बडीको सिट क्षमता २७४ हो । विमानमा १८ वटा विजनेस क्लास र २५६ इकोनोमिक क्लासका सिट छन् ।असारको पहिलो साता श्री एयरलाइन्सले करिब ९० करोड रुपैयाँ बरारको सीआरजे विमान नेपाल भित्र्याएको थियो । योसँगै श्रीसँग ७० सिट क्षमाताका विमानको संख्या २ पुगेको छ भने ५० सिट क्षमताका २ वटा विमान श्रीसँग पहिल्यै थियो ।

श्रीको नयाँ जेट इन्जिनयुक्त विमान अमेरिकाबाट ल्याइएको हो ।श्रीले आन्तरिकसँगै अन्तर्राष्ट्रिय उडानमा प्रवेश गर्न काठमाडौ र नेपालगञ्जबाट भारतमा उडान भर्न अनुमति मागेको छ । तर, पाएको छैन । श्रीले नयाँ विमान भित्र्याएपछि लगातार नयाँ विमानहरु नेपाल प्रवेश गरिरहेका छन् ।असारकै तेस्रो हप्तामा बुद्ध एयरको करिब १ अर्ब ७ करोड बराबरको ७२ सिटे नयाँ एटीआर ७२-५०० जहाज ‘लिज-पर्चेज सम्झौता’ मा नेपाल आयो । यो टर्बोप्रोप इन्जिन भएको जहाज हो । बुद्धको यो जहाज पनि फ्रान्सको टुलुसबाटै ल्याइएको हो ।

यसैगरी साउनको पहिलो हप्तामा तारा एयर प्रालिले आफ्नो नयाँ टि्वनअटर विमान नेपाल ल्यायो । झण्डै ४९ करोड खर्चिएर ताराले लिजमा भाइकिङ ४०० श्रृंखलाका टि्वनअटर ल्याएको हो । सो विमान सेसेयल्स, माल्दिभ्स, भारत हुँदै काठमाडौं अवतरण गरेको हो । दुर्गम क्षेत्रहरुमा उडान संख्या थप्ने उद्देश्यका साथ यो विमान ताराले भित्र्याएको हो ।

नेपालमा हवाइ यात्रुको संख्या वर्सेनि बढिरहेकाले विमान संख्या थप्नुपर्ने अवस्था आएको श्री एयरलाइन्सका कर्पोरेट म्यानेजर अनिल मानन्धर बताउँछन् ।यस्तै वायुसेवा व्यवसायमा रहेको तीव्र प्रतिस्पर्धामा कम्पनीहरु अब्बल ठहरिन पनि नयाँ विमान ल्याउनुपर्ने अवस्था आएको छ । सँगै बढ्दै गएको अन्तर्राष्ट्रिय पर्यटन आवागमलाई ध्यानमा राखेर पनि एयरलाइन्स कम्पनीहरु नयाँ विमान भित्र्याउने होडबाजीमा लागेका छन् ।