दाङमा बस दुर्घटना मृत्यु हुनेको संख्या १२ पुग्यो

काठ्मान्डौ – दाङको भालुवाङमा बस पल्टिँदा ज्यान गुमाउनेको संख्या १२ जना पुगेको छ।

ज्यान गुमाउने मध्य ८ जनाको परिचय खुलेको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जनाए ।

उनका अनुसार मकवानपुर हेटौँडाका ३९ वर्षीय सौरभ विष्ट, काठमाण्डौको चन्द्रागिरि नगरपालिका–५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, बाँकेका २० वर्षीय रामबहादुर हरिजन, रुकुमका २५ वर्षीय दीपक कामी, भारत विहारका ६७ वर्षीय देवेन्द्र राय तथा बाँकेको नेपालगञ्जकी ६० वर्षीया कुसुमको परिचय खुलेको छ।

अरु चार जनाको अहिलेसम्म परिचय खुलेको छैन । शवलाई लमहीको लमही अस्पतालमा राखिएको छ । नेपालगञ्जबाट काठमाण्डौका लागि छुटेको भे १ ख ३९१२ नम्बरको रात्रि बस गएराति भालुवाङको राप्ती पुलबाट खसेको थियो । बस पल्टिँदा अरु २३ जना यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये ८ जनाको बाँकेको कोहलपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।

अरु घाइतेको बुटवल र भालुवाङमा उपचार  भैरहेको छ । बसका चालक सल्यान घर भएका २८ वर्षीय लालबहादुर नेपालीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बस दुर्घटनाको कारण भने खुल्न बाकी छ। पुस २८