दुई मन्त्री हटाउन प्रधानमन्त्री प्रचण्डमाथी दबाब

काठमान्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि मन्त्रीद्वय मोहनबहादुर बस्नेत र प्रकाश ज्वालालाई कारबाही गर्नुपर्ने दबाब आएको छ।

विपक्षी दलहरु नेकपा एमाले र रास्वपाले राजीनामा नआए संसद चल्न नदिने चेतावनी दिएका छन् । एमालेले केन्द्रीय समितिको बैठकबाट निर्णय नै गरेर प्रधानमन्त्री प्रचण्डमाथि दबाब बढाएको छ ।

दुई युवकको मृत्यु भएको बालकुमारी घटनामा जाँचबुझ आयोगले दोषी देखाएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतको नैतिकतामाथि सार्वजनिक रुपमा समेत प्रश्न उठेको छ ।

तर प्रधानमन्त्री प्रचण्ड मन्त्री हटाउने कि नहटाउने विषयमा एकल निर्णय लिने पक्षमा छैनन् । सत्तारुढ गठबन्धनमा रहेका दलहरु बीच हुने सहमतिका आधारमा जुनसुकै मन्त्री फेर्न प्रधानमन्त्री प्रचण्ड तयार छन् ।

मन्त्री बस्नेतलाई बयान दिएकै आधारमा हटाउने कि नहटाउने प्रधानमन्त्रीले निर्णय गर्न सकेका छैनन् । मन्त्रीले आफै राजिनामा पनि दिएका छैनन।

उनी निकटका एक नेता भन्छन्,  ‘अख्तियारले दोषी ठहर गरी मुद्दा दर्ता गरेर प्रक्रिया अगाडि बढाएको अवस्थामा त्यस प्रक्रियाअनुसार हुन्छ । अन्यथा अख्तियारले बोलाएकै भरमा कारबाही गर्ने विषयले गलत नजिर स्थापित गर्ने र राजिनामा दिने भन्ने छैन।

मन्त्री ज्वालाको हकमा सुरक्षा निकायका प्रमुखहरुले समेत सार्वजनिक रुपमा बोलेकाले स्वयंले निर्णय गर्नु उपयुक्त हुने सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रको अपेक्षा छ ।

कांग्रेसको महासमिति बैठक सकिएकाले अब सत्तारुढ दलको बैठक बस्ने र उक्त बैठकमा मन्त्रीहरुको विषयमा समेत छलफल हुने नेताहरु बताउँछन् ।

त्यसबेलासम्म यो विषयले कुनै न कुनै रुपमा निर्णयको आकार लिने माओवादी नेतृत्वको बुझाइ छ ।

एकीकृत समाजवादीको बिहीबार बसेको सचिवालय बैठकले बालकुमारी घटनाको सम्बन्धमा छानबिन गर्न गठित समितिको प्रतिवेदनको विस्तृत अध्ययनपछि मात्रै निर्णय लिने निर्णय गरेको छ ।

र यस सम्बन्धमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री प्रचण्ड र सत्तारुढ गठबन्धनको नेतृत्वकर्ता दल कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्नेछन् ।

नेताहरुका अनुसार प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सापति देउवा र एकीकृत समाजवादीका अध्यक्ष नेपालको छलफलले मन्त्री ज्वालासहित अन्य मन्त्रीहरुको विषयमा समेत आवश्यक निर्णय लिन सक्ने बताईएको छ।

तर एमालेले मन्त्रीद्वयको राजीनामा नआए सदन चल्न नदिने चेतावनी दिइसकेको छ । एमाले सांसद रघुजी पन्त विवादास्पद मन्त्रीलाई कारबाही नभएर बस्ने मन्त्रिपरिषदको बैठकका निर्णयका सम्बन्धमा समेत प्रश्न उठ्न सक्ने बताउँछन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डलाई सम्बोधन गर्दै सांसद पन्तले भनेका छन्, ‘सक्नुहुन्छ कारबाही गरेर देखाउनुस् तुरुन्त । नत्रभने, नेकपा एमालेको तर्फबाट अत्यन्त गम्भीरताकासाथ राखेको छु -यस्ता विवादास्पद मन्त्री भएका मन्त्रिपरिषदका गतिविधिलाई एमालेले टुलुटुलु हेरेर बस्दैन ।

रोजगार अनुमति प्रणाली (ईपीएस)को परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै गत पुस १३ गते ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले मन्त्री ज्वाला चढेको गाडीमा आगो लगाएको थियो ।

त्यसदिन प्रहरीले चलाएको गोली लागेर दुई युवक ( दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाह)को मृृत्यु भएको थियो ।

उक्त घटनाबारे छानबिन गर्न गठित पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल नेतृत्वको छानबिन समितिले परिस्थितिको आकलन नगरी र आफ्नै पीएसओको अनुरोधलाई बेवास्ता गर्दै मन्त्री ज्वाला घटनास्थल पुग्दा परिस्थिति भड्किको ठहर गरेको बताइएको छ । तर, उक्त प्रतिवेदन सार्वजनिक भएको छैन ।

नेपाल दुरसञ्चार प्राधिकरणको टेरामक्स प्रणाली खरिद अनियमितताका सम्बन्धमा बयानका लागि बोलाएपछि गत माघ २३ गते अपराह्न स्वास्थ्यमन्त्री बस्नेतले अख्तियार कार्यालय टंगाल पुगेर बयान दिएका थिए ।

विगतमा अदालतमा बयान दिन गएका र अख्तियारले बयान लिन बोलाएका मन्त्रीहरुले राजीनामा दिएको नजिरहरु रहको उनले स्मरण गरे । फागुन ११